तनहुँ । यहाँको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजनाअन्तर्गत ५० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न गरिएका छन् । व्यास–१० स्थित बैरेनीमा कूल एक हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा २६२ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तार गरिएको छ । सो आयोजनाअन्तर्गत जटिल प्रकृतिका काम सकिएको र अब छ महिनाभित्र घडेरी छुट्याइने आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब नाला निर्माण, कालोपत्र, विद्युत् खम्बा, खानेपानी जडान, पार्क, खेल मैदान र दुई वटा विद्युत् ट्रान्समिटर जडान गर्नु पर्नेछ, ट्रान्समिटरका लागि विद्युत् प्राधिकरणसँग समन्वय गरिएको छ ।
” कित्ताकाटका लागि नक्सा ‘प्रिन्ट’ भइसकेको उहाँले जानकारी दिनुभयो । नापी र मालपोतबाट प्रमाणीकरण हुन बाँकी रहेकाले प्रमाणीकरण पछि स्थानीयलाई पुर्जा प्रदान गरिने उहाँले बताउनुभयो । विसं २०८२ भित्र जग्गाधनीलाई पुर्जा वितरण गर्ने लक्ष्य आयोजनाको छ । विसं ०७९ मङ्सिर १४ गते सम्झौता गरी २०८५ सालसम्म ऋण सम्झौता रहेकामा तीन वर्षअगावै सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।
मुलकाअनुसार पहिलो चरणमा विकसित निजी घडेरी ६९ दशमलव १७ प्रतिशत, बाटो र ढल निर्माणमा १८ दशमलव ९४ प्रतिशत, खुला क्षेत्र सार्वजनिक पाँच दशमलव ८८ प्रतिशत, बिक्रीयोग्य जग्गा चार दशमलव ७९ प्रतिशत र खोल्सी तथा रिटेनिङ पर्खालमा एक दशमलव १२ प्रतिशत आयोजनाको भूउपयोगका लागि छुट्याइएको छ । बिक्री योग्य चार दशमलव ७९ प्रतिशत जग्गा बिक्री गरेर नगर विकास कोषको ऋण तिर्ने योजना आयोजनाको छ । विसं २०७७ मा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजना सुरूआत गरिएको थियो ।
विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि निर्माण सुरु गरिएको हो । “एकीकृत बस्ती आयोजनाको निर्माण सम्झौताअगावै सम्पन्न गर्नेमा भक्तपुरपछिको व्यास नगरपालिका अग्रसर बनिरहेको छ”, उहाँले भन्नुभयो, “उक्त आयोजनामा नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी छ ।” कूल रु १३ करोडमध्ये कोषले रु नौ करोड १० लाख ५० हजार ४०० र नगरपालिका तथा गण्डकी प्रदेशको रु चार करोड लगानी छ । नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको छभने वार्षिक ब्याजदर आठ प्रतिशतमा ऋण लगानी छ ।
विसं २०८१ सम्म आयोजनाको निर्माण अवधि छ”, इन्जिनियर मुलले भन्नुभयो, “निर्माण अवधिभर लिएको ऋणको कुनै ब्याज र किस्ता तिर्नुपर्दैन ।” सम्झौता अगावै एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिँदै छ”, उहाँले भन्नुभयो, “भावि पुस्ताका लागि बस्ती बसाउन नगरपालिकाले नगरविकास कोषसँग हातेमालो गर्दै अघि बढेका हौँ ।”

































































































































































