काठमाडौँ, आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ । यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । क्रियसन नेपालको आयोजनामा सम्पन्न उक्त अभियानमा संस्थाका स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अभियानअन्तर्गत मन्दिर परिसर, आर्यघाट, कैलाश डाँडा क्षेत्र आसपास तथा साधु–सन्त बस्ने स्थानमा विशेष सफाइ गरिएको थियो । साथै फोहर सङ्कलनलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको छ भने सरसफाइमा खटिने सफाइकर्मीलाई पहिचानयुक्त ज्याकेटसमेत प्रदान गरिएको छ ।
क्रियसन नेपाल विगत केही वर्षदेखि कोषसँग सहकार्य गर्दै सरसफाइ अभियानमा सक्रिय रूपमा संलग्न हुँदै आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ, क्रियसन नेपालले आज सरसफाइसहित डस्टबिन र ज्याकेट वितरण गर्नुका साथै आगामी शिवरात्रिमा स्वयंसेवक परिचालन गर्ने प्रतिबद्धता जनाएको छ ।”
यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी तयारी अघि बढाइएको कोषले जनाएको छ । व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, यातायात, स्वयंसेवक परिचालन, आवास व्यवस्था, प्रचार–प्रसार तथा समन्वय जस्ता क्षेत्रमा उपसमिति सक्रिय रूपमा खटिएका प्रवक्ता जोशीले बताउनुभयो ।
महाशिवरात्रिका दिन लाखौँ भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने अनुमान कोषले गरेको छ । स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु आउने भएकाले भीड व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्वयंसेवकको परिचालनमार्फत सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गरिने कोषले जनाएको छ । आपतकालीन उद्धार, प्राथमिक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिले पर्वको धार्मिक, सांस्कृतिक तथा व्यवस्थापकीय पक्षलाई समन्वय गर्दै सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपतिनाथ क्षेत्रमा साधु–सन्तहरूको आगमन उल्लेख्य रूपमा बढेको छ । भारतका विभिन्न अखडा तथा सम्प्रदायका साधु–सन्तसमेत पशुपति क्षेत्रमा आइपुगी आ–आफ्ना धुनी स्थापना गर्न थालेका छन् ।
पशुपति क्षेत्रका वनकाली, मृगस्थली, राममन्दिर क्षेत्रलगायत स्थानमा साधु–सन्तहरू ध्यान, तपस्या तथा साधनामा तल्लीन देखिन्छन् । यसले पशुपति क्षेत्रलाई थप आध्यात्मिक र धार्मिक वातावरणले ओतप्रोत बनाएको छ ।
कोषका अनुसार यस वर्षको महाशिवरात्रि फागुन ३ गते परेको छ । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइने यस दिन भगवान् शिवको पूजा–आराधना, रुद्राभिषेक, दीपप्रज्वलन तथा रातभर जाग्राम बस्ने परम्परा रहेको छ । पशुपतिनाथमा विशेष पूजाअर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ ।
महाशिवरात्रिलाई स्वच्छ, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गर्न कोष, नेपाल सरकार तथा सम्बन्धित निकायबीच समन्वयलाई तीव्र बनाइएको छ । सरसफाइ अभियानलाई निरन्तरता दिँदै वातावरणीय स्वच्छता कायम राख्न सर्वसाधारणलाई पनि सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ ।
पर्वलाई भव्य र सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै कोषले श्रद्धालुलाई निर्धारित मार्ग, समय र सुरक्षा निर्देशिकाको पालना गर्न अनुरोध गरेको छ । महाशिवरात्रिको तयारीसँगै पशुपति क्षेत्र यतिबेला धार्मिक उत्साह, आध्यात्मिक ऊर्जा र चहलपहलले भरिएको देखिन्छ ।




















































































































































