काभ्रेपलाञ्चोक, तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रम्नुभएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उहाँले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहनुभएको छ ।
कोरोना महामारीका बेला खेती थाल्नुभएका उहाँ भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी हुनुभएको छ । “बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ” व्यवसायी विष्टले भन्नुभयो, “स्थानीय बजारमा प्रतिकिलो रु चार सयदेखि आठ सयसम्ममा भुइँऐसेलु बिक्री भइरहेको छ ।”
जनागालस्थित आफ्नै दश रोपनी जग्गामा भुइँऐसेलु रोपेर जिल्लामा मात्र नभएर देशको नमूना किसानको पहिचान बनाउनुभएका ४६ वर्षीय विष्टले भुइँऐसेलु रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको भने होइन, अरुले रोपेको देखेर र भनेका आधारमा खेती थाल्नुभएको सुनाउनुभयो ।
गत वर्ष सबै खर्च कटाएर रु ३० लाख बचत गर्नुभएका उहाँ यसवर्ष केही बढी आम्दानी हुनेमा आश्वस्त हुनुहुन्छ । उहाँले भुइँऐसेलु मात्र होइन मौसमी सागसब्जीसँगै कुखुरापालन पनि गरिरहनुभएको छ । भुइँऐसेलुका बिरुवा पनि उहाँले बेच्दै आउनुभएको छ । उहाँले भुइँऐसेलुखेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोप्नुभएको छ ।हाल उहाँको फार्ममा पाँच जनाले रोजगारी पाएका छन् । व्यवसाय विस्तारको सोचमा रहनु भएका उहाँले भुइँऐसेलुबाट ‘वाइन’ र ‘जुस’ उत्पादन उद्योग स्थापना गर्न विज्ञहरुसँग परामर्श गरिरहनु भएको छ ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































