मकवानपुर, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्योग वाणिज्य क्षेत्रको नेपालको अर्थतन्त्रमा ठूलो योगदान रहेको बताउनुभएको छ ।मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिकसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार सङ्घीय सरकारसँग सहकार्य र समन्वय गरेर उद्योग व्यापार क्षेत्रको समग्र विकासमा मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो ।
नयाँ सरकारसँग उद्योग वाणिज्य क्षेत्रले धेरै आशा भरोसा गरेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले यसका लागि प्रदेश सरकार सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।सभाका अन्य वक्ताले राज्यले उद्योग वाणिज्य क्षेत्रमा करको दर बढाउने, राजस्व मात्र बढी सङ्कलन गर्ने तथा स्थानीय तहले करको दर मात्रै बढाउने गर्दा उद्योग व्यवसायी धरासायी हुने खतरा बढेको बताए । उद्योग वाणिज्यमैत्री नीति ल्याएर सो अनुरुप कानुन बनाउन सके समग्र अर्थतन्त्रको विकास हुनेतर्फ ध्यान दिन उहाँहरुको आग्रह थियो ।राष्ट्रिय समाचार समिति (रासस)



























































































































































