बिहिबार, फाल्गुन १७, २०८०

स्याउ बगैँचा व्यवस्थापनको चटारो

मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ । फूल खेल्नु र हिउँ पर्नु अघिनै बगैँचा व्यवस्थापन गर्न जुटेका हुन् । हिउँ पर्ने समयमा स्याउ बगैँचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ । पुष माघ महिनामा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन् । रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन् । जरा वरफरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने गरिएको मार्फाका कृषक दीपक लालचनले बताउनुभयो । हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट बिरुवालाई पौष्टिक तत्व आपूर्ति हुन्छ ।

 

स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ । अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ । दाना साना लाग्छन् । दानाको स्वाद मीठो हुँदैन । पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा हाँगा काँटछाँट गर्ने गरिन्छ । स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरेका छन् । बगैँचा व्यवस्थापनका सामग्री र बोडो पेष्ट उपलब्ध गराएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो । स्याउ तथा फलफूलविज्ञ डा खेमबहादुर शाहीले कृषकलाई तालिम दिनुभएको छ । मुस्ताङमा यस वर्ष रु ५९ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।

 

छ हजार पाँच सय ९७ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएकोमा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिन्छन् । स्थानीय जातका अलावा ३८ हेक्टर क्षेत्रफलमा इटालीबाट ल्याइएको उच्च घनत्व प्रविधिको स्याउ खेती भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation