खोटाङ, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट खोटाङका उम्मेदवार वीरकाजी राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि एवम् पूर्वजिल्ला सचिव राईले काठमाडौँमा चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको हो ।
उम्मेदवार राईका साथमा कोशी प्रदेशका महामन्त्री एवम् निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, जिल्ला उपसभापति एवम् हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख इवन राईलगायतका नेताहरु सहभागी छन् । कांग्रेस खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी कमान्डर (नेता) तोकेर अभियान सुरु गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उम्मेदवार देवविक्रम राईले खोटेहाङ गाउँपालिकाको खोटाङबजारबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । एमाले खोटाङका अध्यक्षसमेत रहनुभएका राईले काठमाडौँ, इटहरी र गाईघाटको चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको हो ।
उम्मेदवार राईका साथमा एमाले केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराई, पूर्वजिल्ला अध्यक्षहरु बबि चाम्लिङ र रामप्रसाद दङ्गाललगायतका नेताहरु सहभागी छन् । औपचारिक कार्यक्रमका लागि मिति तय नगरी पहिलो चरणमा घरदैलो अभियान सुरु गरिएको उम्मेदवार राईले बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा हरि रोकाले माघ ७ गते दिक्तेल बजारबाट घरदैलो अभियान सुरु गर्नुभएको थियो । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा रोकाको घरदैलो अभियानमा रोकासँगै छ जना पूर्वसांसद तथा केन्द्रीय नेताहरु सहभागी छन् ।
दिक्तेलस्थित किरातचोकबाट घरदैलो अभियान सुरु गर्नुभएका रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्वसांसदहरु टङ्क राई र कुलप्रसाद फुयाँल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकासमन्त्री राजन राईले साथ दिएका छन् ।
रोकाको चुनावी कमान्डर नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राई खटिनुभएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा यस वर्ष पुरानै तीन राजनीतिक दल (कांग्रेस, एमाले र नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी डा राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु जनताको घरदैलोमा पुगेर मतदाता रिझाउन थालेपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ । जिल्लाका साना–ठूला सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु आफ्नो पक्षमा जित निकाल्न र मतदाता रिझाउन दिनरात नभनी खटिएका छन् ।
विसं २०७९ को निर्वाचनमा खोटाङमा एमाले बलियो देखिएको थियो । श्रम संस्कृति पार्टीलगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गर्नाका साथै मत काट्ने देखिएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । त्यसमध्ये २१ वटा अति संवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)



















































































































































