गण्डकी, जनप्रीय बहुमुखी क्याम्पसको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको विशेष सहयोगमा आगामी चैत १२, १३ र १४ गते पोखरामा ‘नेपालमा उच्च शिक्षाको रुपान्तरणः विश्व प्रतिष्पर्धातर्फका मार्गहरू’ विषयक अन्तराष्ट्रिय सम्मेलन गरिनेभएको छ ।
सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनप्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्णबाबु बरालले उच्च शिक्षालाई परम्परागत शिक्षण विधिबाट माथि उठाई अनुसन्धानमुखी, प्रविधिमैत्री र उत्पादनसँग जोड्नुपर्ने आवश्यातालाई दृष्टिगत गरी त्यस सम्बन्धमा बृहत् छलफल एवम् अन्तरक्रिया गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुुभयो । सम्मेलनमा नेपालको उच्च शिक्षालाई स्थानीय आवश्यकता र विश्वव्यापी मापदण्डबीच कसरी सन्तुलन कायम गर्न सकिन्छ त्यस सम्बन्धमा घनिभूत छलफल गरिने उहाँले बताउनुुभयो ।
नेपाल, भारत, चीन, थाइल्यान्ड, बङ्गलादेशलगायत देशबाट ख्यातीप्राप्त शिक्षाविद्को विद्वत प्रवचन प्रमुख बरालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “सम्मेलनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धानकर्ताबाट ५० भन्दा बढी मूल्याङ्कन गरिएका अनुसन्धानपत्र प्रस्तुत गरिनेछन्”, उहाँले भन्नुुभयो, “यी कार्यपत्र गुणस्तर प्रत्यायन, डिजिटल रुपान्तरण, शैक्षिक सुशासन, स्वायत्तता र दिगो विकास लक्ष्य जस्ता सामयिक विषयमा केन्द्रित रहनेछन् ।”
सम्मेलनले नेपालको उच्च शिक्षा प्रणालीमा विद्यमान खाडल पुर्दै प्राज्ञिक उत्कृष्टता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि ठोस मार्गचित्र प्रस्तुत गर्ने प्रमुख बरालले बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारी, सहायक क्याम्पस प्रमुख नवीन खनाल, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, प्राध्यापक दीपेन्द्र पहारीलगायतले क्याम्पसको कक्षाकोठामा सीमित शिक्षण सिकाइलाई फराकिलो अनुसन्धानको दायरामा ल्याउन सम्मेलन फलदायी बन्ने विश्वास व्यक्त गर्नुुभयो । राष्ट्रिय समाचार समिति (रासस)






















































































































































