धरान (सुनसरी), सुनसरीको धरानमा आजदेखि २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । धरान उपमहानगरपालिका-१६ स्थित धरान रङ्गशालामा आज दिउँसो २ः०० बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र जर्जियन फुटबल क्लब (भारत) बीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार क्लबले २०५५ सालदेखि आयोजना गर्दै आएको उक्त प्रतियोगिता आजदेखि सुरु भई आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । गत वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यस वर्ष १० टोली सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने छ ।
यस वर्षको प्रतियोगितामा एनआरटी क्लब (काठमाडौँ), चर्च ब्वाइज युनाइटेड क्लब (काठमाडौँ), नेपाल पुलिस क्लब (काठमाडौँ), रोयल थिम्फु क्लब (भुटान), जर्जियन क्लब (भारत), एलए क्लब (पोखरा), सातदोबाटो युथ क्लब (ललितपुर), प्लानिङ ब्वाइज युनाइटेड क्लब (काठमाडौँ), झापा-११ झापा र धरान फुटबल क्लब सहभागी रहने आयोजकले जनाएको छ ।गत वर्ष प्रतियोगिताको उपाधि एनआरटी क्लब काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































