खोटाङ, कनककुमारी पोखरेल स्मृति प्रतिष्ठान खोटाङले रावाबेँसी गाउँपालिकाका ६ उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका र चार उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्व आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा परिवारका सदस्यले स्थापना गरेको रु सात लाखको अक्षयकोषबाट उनीहरूलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकातर्फ सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठ रहनुभएको प्रतिष्ठानका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो ।
यस्तै छात्रातर्फ शारदा उच्च माध्यमिक विद्यालय खार्पाको कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ का ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशङ्खेलाई छात्रवृत्तिअन्तर्गत पुरस्कृत गरिएको छ । पुरस्कृत हुने महिला स्वास्थ्य स्वयम्सेविका र छात्रालाई जनही नगद रु सात हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । शारदा माध्यमिक विद्यालय खार्पामा आयोजित कार्यक्रममा पूर्वमन्त्री पोखरेल, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठ, निवर्तमान गाउँपालिका प्रमुख लिलानाथ निरौलालगायतले पुरस्कृत महिला स्वास्थ्य स्वयम्सेविका तथा छात्रालाई पुरस्कार प्रदान गर्नुभएको हो ।
रावाबेँसी गाउँपालिका–२ खार्पा निवासी स्व कनककुमारी पोखरेलको स्मृतिमा २०६५ सालमा स्थापना गरिएको अक्षयकोषबाट प्रतिष्ठानले प्रत्येक वर्ष स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गर्दै आएको छ । निरक्षर भएर पनि आफ्ना सन्तानलाई सक्षम र सचेत बनाउन सफल आमा कनककुमारी पोखरेलको सम्झनामा छोराहरू पुष्पमणि पोखरेल, डा नारायण पोखरेल, पूर्वमन्त्री गिरिराजमणि पोखरेल, मुरारीमणि पोखरेल, केदारमणि पोखरेल, सुदेशमणि पोखरेल तथा छोरी सीतादेवी ओझाले प्रतिष्ठान स्थापना गर्नुभएको हो ।
‘डोरमणि पोखरेल छात्रवृत्ति’ पुरस्कारकोष भने स्व कनककुमारी पोखरेलका माहिला छोराका नाममा स्थापना गरिएको प्रतिष्ठानका उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । कक्षा–६ मा अध्ययन गर्दै गर्दा १२ वर्षको उमेरमा २०२२ साउन २ गते निधन भएका डोरमणि पोखरेलको स्मृतिमा परिवारका सदस्यले ‘डोरमणि पोखरेल छात्रवृत्ति’ पुरस्कार कोष स्थापना गरेको हो । पुरस्कार वितरण कार्यक्रममा ‘बा’लाई सम्झँदा’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































