कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको पाइएको छ।
बाहिरबाट हेर्दा सामान्य होटेल र खाजा पसल जस्ता देखिने संरचनाहरूभित्र हुने अनैतिक क्रियाकलापले समाजमा गम्भीर चुनौती खडा गरिदिएको छ। प्रहरी प्रशासन र स्थानीयको निगरानीबाट बच्न सञ्चालकहरूले होटेलको आवरण प्रयोग गर्दै खाजा नास्ता खाने निहुँमा आउने ग्राहकहरूलाई यौनजन्य गतिविधिका लागी युवतीहरू उपलब्ध गराउँदै आएका छन्।
यस पेसामा संलग्न करिब २२ जना युवतीहरूमध्ये झन्डै ४० प्रतिशत उमेर नपुगेका बालिकाहरू रहेको श्रोतको दाबी छ । यो “ठाउँमा २२ जनाभन्दा बढी युवतीहरू यौन पेसामा संलग्न छन् । ती मध्ये ८/१० जना बालिका १८ वर्ष मुनिका छन् । यहाँका बादी समुदायका स्थानीय युवतीहरू त पेसामा संलग्न छन् नै अन्य जिल्लाबाट आएका अन्य समुदायका केही युवतीहरूले समेत पेसा गर्दै आएका छन् ।” श्रोतले भन्यो ।
विद्यालय जानुपर्ने कलिलो उमेरका यी बालिकाहरू कतिपय साथीभाइको लहैलहैमा लागेर र कतिपय परिवारको आर्थिक दबाबमा परेर यो दलदलमा फस्न बाध्य भएको स्रोतको भनाई छ । यसरी बालिकाहरूको भविष्य अन्धकारतर्फ धकेलिँदै जाँदा समेत यसतर्फ राज्यका जिम्मेवार निकायहरूको ध्यान पुग्न सकेको छैन। यस क्षेत्रमा स्थानीय बादी समुदायका युवतीहरू मात्र नभई छिमेकी जिल्ला र अन्य समुदायका युवतीहरू समेत देहव्यापारका लागि ल्याइने गरेको स्रोतको दाबी छ।
यौनजन्य क्रियाकलापका लागि ग्राहकहरूको अनियन्त्रित भिडभाड बढ्दै जाँदा यो ठाउँ लागु औषध कारोबारी र प्रयोगकर्ताहरूको सुरक्षित केन्द्र बन्ने जोखिम पनि उत्तिकै बढेको छ। विशेष गरी भारतीय नागरिकहरूको निरन्तरको आउजाउले गर्दा सीमावर्ती सुरक्षा र सामाजिक सद्भावमा समेत असर परिरहेको स्थानीयहरूको गुनासो छ। होटेलका कोठाहरूमा हुने यस्ता अवैध धन्दाले एकातिर कानुनको धज्जी उडाएको छ भने अर्कोतिर युवा पुस्तामा चरम विकृति फैलाएको छ। दशकौँदेखि चल्दै आएको यो समस्यालाई निराकरण गर्न सरकार र स्थानीय प्रशासनले ठोस योजना ल्याउन सकेका छैनन् ।
यस पेसामा आबद्ध समुदायले भने आफ्नो जीविकोपार्जनको अर्को विकल्प नभएको तर्क गर्दै आएका छन्। सरकारले उनीहरूको गाँस र बासको उचित व्यवस्थापन नगरे सम्म यो पेसालाई अवरोध गर्न नहुने उनीहरूको जिकिर छ । “यो आजबाट चलेको पेसा होइन र यो हाम्रो रहर पनि होइन, बाध्यताले हाम्रो छोरी बहिनीहरू बिग्रेका हुन । हामीले आफ्नो जिन्दगी यसैमा सक्यौ, अहिले नयाँ केटीहरू पनि हाम्रै बाटोमा छन् । हामीले पेसा नगरे के गरि खाने ? सरकारले हामीलाई राम्रो व्यवस्थापन गर्यो भने त हामी आफै बन्द गर्नतर्फ लाग्छौ ।” एक पूर्व यौनकर्मी अधबैँसे महिलाले भनिन ।
तर, यही समुदायका सचेत युवाहरू भने अब यो विकृति सहने पक्षमा छैनन्। गत चैत ११ गते अमर बादी, सुनिल बादी, गणेश बादीलगायतका १० जना स्थानीय युवाहरूले गाउँपालिका र प्रहरी प्रशासनमा सामूहिक निवेदन दिँदै यो अवैध धन्दा तत्काल बन्द गर्न माग गरेका छन्। विगतमा यो ठाउँमा यौन व्यवसाय सञ्चालनको प्रमाण नभएको भन्दै पन्छिने गरेको प्रहरीका लागि भने पेसा बन्द गरिदिने बारेको यो निवेदन आफैँमा एउटा बलियो प्रमाण बनेको छ। मुढाको शान्ति टोलमा जारी यो बेथितिलाई चिर्न स्थानीय सरकार र प्रहरी प्रशासनले अब कस्तो कदम चाल्छ, त्यो भने प्रतीक्षाको विषय बनेको छ।
नेपालको कानुनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनमार्फत कसैलाई वेश्यावृत्तिमा लगाउनु वा सो कार्यका लागि मन्जुरी लिनुलाई कडा सजायको व्यवस्था गरेको छ। विशेष गरी बालिकाहरूलाई यस्तो कार्यमा संलग्न गराउनु अक्षम्य अपराध हो, जसमा संलग्न हुनेलाई २० वर्षसम्मको कैद सजाय हुन सक्छ। सरकारले पेसामा संलग्न युवती र बालिकाहरूको उद्धार, पुन:स्थापना र उनीहरूलाई वैकल्पिक आयआर्जनको बाटोमा जोड्ने तर्फ ध्यान दिनुपर्ने आम मानिसको बुझाई छ ।

























































































































































