भोजपुर, यहाँको हतुवागढी गाउँपालिका–४ स्थित ‘लुङथुङ’ प्रचारप्रसारका अभावमा ओझेलमा परेको छ ।ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिए पनि आवश्यक संरक्षण, अध्ययन र प्रवद्र्धन नहुँदा यसको पहिचान सीमित बन्दै गएको छ । स्थानीयवासी विजयकुमार राईका अनुसार ‘लुङथुङ’ नाम आफैँमा किरात संस्कृतिको प्रतीक हो । किरात (वान्तावा) भाषामा ‘लुङ’ को अर्थ ढुङ्गा र ‘थुङ’ को अर्थ गाडिएको भन्ने हुन्छ । “यहाँ रहेको शिला हेर्दा नै आश्चर्य लाग्छ, मानौँ कसैले चिरानी गरेर मिलाएर गाडेको हो”, उहाँले भन्नुभयो, “करिब नौ फिट अग्लो यो शिला यसरी ठडिएको देख्दा जो कोही पनि अचम्मित हुन्छ ।”
उक्त शिलामा ‘मङ्गल सिंह राई ३४’ लेखिएको पाइए पनि यसको वास्तविक इतिहास र स्थापना समयबारे स्पष्ट अभिलेख भेटिएको छैन । यद्यपि, पुस्तौँदेखि स्थानीय समुदायले यसलाई धार्मिक आस्थाको केन्द्रका रूपमा मान्दै आएका छन् । स्थानीय विश्वासअनुसार यो शिला गाउँको संरक्षणसँग जोडिएको छ र यसलाई अन्यत्र सारिएमा गाउँमा विपद् आउने जनविश्वास रहिआएको छ ।
“यो केवल ढुङ्गा मात्र होइन, हाम्रो पहिचान र आस्थासँग जोडिएको सम्पदा हो”, राईले भन्नुभयो, “यही शिलाको नामबाट गाउँको नामसमेत ‘लुङथुङ’ रहन गएको हो । जुन हाम्रो इतिहासको जीवन्त प्रमाण हो ।” लुङथुङ क्षेत्र प्राकृतिक रूपमासमेत आकर्षक छ । हरियाली वातावरण, शान्त परिवेश र पहाडी भू–आकृतिले यो स्थानलाई पर्यटकीय हिसाबले सम्भावनायुक्त बनाएको छ । तर, आवश्यक पूर्वाधार अभावले गर्दा यहाँसम्म पुग्न कठिनाइ हुने गरेको छ । विशेष गरी पदमार्ग, सङ्केतचिह्न, सूचना बोर्ड र आधारभूत सुविधा नहुँदा पर्यटक आकर्षित गर्न चुनौती देखिएको छ ।
स्थानीय तहले भने यसको संरक्षण र प्रवद्र्धनका लागि प्रारम्भिक प्रयास थालेको छ । वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार ऐतिहासिक शिलाको संरक्षणका लागि घेराबारा गरिएको छ । “हामीले यसको महत्वलाई ध्यानमा राख्दै पहिलो चरणमा संरक्षणको काम गरेका छौँ”, उहाँले भन्नुभयो, “अब यसलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ ।”
उहाँका अनुसार आगामी दिनमा पदमार्ग निर्माण, सूचना केन्द्र स्थापना, प्रचारप्रसार तथा सांस्कृतिक पर्यटनसँग जोडेर लुङथुङ क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने योजना बनाइएको छ । स्थानीय समुदाय पनि यसको संरक्षण र प्रवद्र्धनमा सक्रिय रूपमा लाग्न थालेका छन् ।
संस्कृति, इतिहास र प्रकृतिको सङ्गमस्थलका रूपमा रहेको लुङथुङ उचित संरक्षण र प्रचार पाएमा भोजपुरको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ । तर, त्यसका लागि सरकारी निकाय, स्थानीय तह र समुदायबीच समन्वयात्मक पहल आवश्यक रहेको स्थानीयबासीको भनाइ छ ।हालसम्म ओझेलमा परेको यो ऐतिहासिक सम्पदाले उचित ध्यान पाएमा भविष्यमा पर्यटन र सांस्कृतिक पहिचानको आधार बन्न सक्नेमा स्थानीय आशावादी छन् ।राष्ट्रिय समाचार समिति (रासस)



























































































































































