नारायणगढ (चितवन), चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही निकुञ्जअन्तर्गत जनकौली सामुदायिक वन क्षेत्रको राप्ती नदी प्रणालीमा छाडिएको छ ।निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार मङ्गलबार २० वटा घडियाल नदीमा छाडिएको हो, जसमा तीन भाले र बाँकी पोथी रहेका छन् । छाडिएका २० गोहीसँगै यस वर्ष प्रजनन केन्द्रमा हुर्काइएका कूल १६५ घडियाल राप्ती नदी प्रणालीमा छाडिएको छ । उहाँका अनुसार केन्द्रमा हुर्काएर हालसम्म दुई हजार २४० घडियाल विभिन्न नदीमा छाडिएकामा राप्ती नदीमा मात्रै एक हजार ४८५ घडियाल छाडिएको छ ।
निकुञ्ज भएर बग्ने राप्ती नदी घडियालको प्राकृतिक बासस्थानका लागि उपयुक्त मानिन्छ । नारायणी तथा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डा र केन्द्रमै रहेका गोहीबाट जन्मिएका बच्चालाई केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ । हाल केन्द्रमा करिब ६०० को हाराहारीमा घडियाल रहेका छन् ।
नदी किनारबाट सङ्कलन गरिएका अण्डालाई केन्द्रको कृत्रिम ह्याचरीमा राखी बच्चा उत्पादन गरिन्छ । प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टाछुट्टै राखिन्छ । प्राकृतिक वातावरण अनुकूल भएकाले राप्तीमा बढी घडियाल छाडिँदै आएको छ । अवलोकनका क्रममा विशेषगरी राप्ती र नारायणी नदी बढी उपयुक्त देखिएका छन् । गत मङ्सिरमा गरिएको गोही गणना तथा अवलोकनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ घडियाल भेटिएका छन् । तीमध्ये नौवटा भाले रहेका छन् ।
घडियाल तुलनात्मक रूपमा शान्त स्वभावको हुन्छ र नदी तथा किनार छाडेर धेरै टाढा जाँदैन । घडियाल संरक्षण गर्ने उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । पाँच वर्षसम्म संरक्षण केन्द्रमा राखी आफैँ आहार खोज्न र खान सक्ने अवस्थामा पुगेपछि नदीमा छाड्ने गरिन्छ ।
प्राकृतिक बासस्थानबाट अण्डा सङ्कलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका करिब एक दशमलव पाँच मिटर लम्बाइ पुगेका घडियाल प्राकृतिक बासस्थानमा छाड्न योग्य हुने सूचना अधिकारी थापाले बताउनुभयो ।
प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियालमध्ये थोरै मात्र जीवित रहने गरेको पाइएको छ । कतिपय घडियाल हराउने, केही बाढीले बगाएर भारततर्फ पुग्ने तथा केही विभिन्न कारणले मर्ने गरेका छन् । नदीमा माछा मार्न प्रयोग हुने जालमा अल्झिएर घडियाल मर्ने समस्या बढ्दै गएको छ । निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियालको उद्धार गर्दै आएको थापाले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































