टक्सार (भोजपुर), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहाडी जिल्ला भोजपुरबाट १२ राजनीतिक दलका १२ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियान छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरु भने अहिले गाउँ केन्द्रित बनेका छन् । सदरमुकाममा चहलपहल कम भई रहँदा गाउँघर तिर चुनावी चहलपहल बढ्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुट्दा दलहरु आफनो पक्षमा मतदाता तान्न व्यस्त देखिएका हुन् ।
आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शेरधन राई, नेपाली कांग्रेसबाट बालकृष्ण थापा, नेपाली कम्युनिष्ट पार्टीबाट अजम्बर राई काङमाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेशप्रसाद ओझा, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई, नेकपा (माओवादी) बाट देवानराज राई, जनता समाजवादी पार्टीबाट गोपालकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट चन्द्रप्रसाद राई र आमजनता पार्टीका तर्फबाट युवराज थापा चुनावी मैदानमा छन् ।
नौ वटा स्थानीय तह रहेको भोजपुरमा ८७ मतदानस्थल, अस्थायीसहित १६१ मतदान केन्द्र कायम गरिएको छ । जिल्लाको कूल मतदाता सङ्ख्या भने एक लाख २५ हजार ७६६ जना रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































