लुम्बिनी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा प्रदेश सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत व्यवस्था निर्माण गरिएको जानकारी दिनुभएको छ ।
प्रदेश स्थापना दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले निर्माण गरेका कानुनी तथा नीतिगत संरचनाले प्रदेश सरकारको कार्यान्वयन क्षमता बलियो बनेको उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा सङ्घीयताको सवलीकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट भएको बताउनुभएको छ । उहाँले सङ्घीयताको सफलताको अभ्यासको सन्देश देशभर दिन लुम्बिनी प्रदेश सफल भएको पनि बताउनुभएको छ ।
उहाँका अनुसार सङ्घीयताको औचित्य व्यवहारमा देखिनेगरी नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषिलगायत सामाजिक तथा आर्थिक क्षेत्रको सन्तुलित विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको छ । मुख्यमन्त्री आचार्यले संविधानको पूर्ण पालना र संरक्षणका विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सङ्घीय संरचनाको सम्मान, अधिकारको व्यावहारिक कार्यान्वयन र स्रोतसाधनको सुनिश्चितताका लागि लुम्बिनी प्रदेश सधैँ स्पष्ट र दृढ रहेको उहाँको भनाइ छ ।
प्रदेश सरकार स्थापना भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारको अन्त्यलाई कार्यसम्पादनको मूल आधार बनाइएको मुख्यमन्त्रीको भनाइ छ । सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रियामा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व बलियो बनाउने काम भइरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री आचार्यले राजनीतिक रूपमा प्राप्त सङ्घीयतालाई प्रशासनिक र वित्तीय सङ्घीयताका रूपमा पनि संस्थागत गर्न अपरिहार्य भइसकेको उल्लेख गर्नुभयो । सङ्घीयताको सवलीकरण र औचित्य व्यवहारमा उतार्दै प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार अझ दृढताका साथ अघि बढ्ने उहाँको प्रतिबद्धता छ ।
सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसका अवसरमा आज प्रदेशभर सार्वजनकि बिदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































