काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली भाषा, संस्कृतिको महत्व अतुलनीय रहेकाले कानुनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किनुपर्नेमा जोड दिनुभएकोछ ।
राष्ट्रियसभाको विधायन समितिको आजको बैठकमा उहाँले समाजको कला संस्कृतिको यस्ता शब्दको महिमा जीवित राख्नुपर्ने धारणा राख्नुभयो । समितिले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफाबार छलफल गर्ने क्रममा सभाका सदस्यहरुले आ–आफ्नो मत राख्नुभएको थियो ।बैठकमा समितिका सदस्य डा वेदुराम भुसालले विधेयकको शीर्षकनै परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नाम र सम्पदाको परिभाषामा रुपान्तरण गर्न रहेको बताउनुभयो ।
त्यस्तै, सदस्य पदमबहादुर परियारले २३ वर्षदेखि बन्न नसकेको उक्त विधेयकलाई छिटोभन्दा छिटो लागू गराउनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले समाजमा संस्कृतिको रुपमा रहेका केहि लगत प्रथालाई भने संरक्षण गर्न नहुने सुझाव दिनुभयो । उहाँले स्थानीय तहमा सांस्कृतिक सम्पदाको सूचीकरण गर्न लगाउने भनिएर मात्रै नपुग्ने बताउँदै त्यसलाई प्रभावकारी कार्यान्वयन गराउन बजेटको समेत व्यवस्था हुनुपर्ने प्रष्ट कानुनमा उल्लेख गरिनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै, बैठकमा पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भाषाको सरलता र जनजीवनलाई सहज हुने शब्दाबली छनोट गर्न उपयुक्त हुने धारणा राख्नुभयो ।समितिका सभापति तुलसाकुमारी दाहालले अभौतिक सांस्कृतिक सम्पदा(संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल निरन्तर हुँने बताउँदै सरोकारवालासँगसमेत आवश्यक रायसुझाव सङ्कलन कार्य भइरहेको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































