नारायणगढ (चितवन), नेपाली संस्कृति, धर्म र लोकभजनको संरक्षण तथा जगेर्ना गर्दै भावि पुस्तालाई यसबारे अवगत गराउने उद्देश्यले शनिबार आयोजना हुन लागेको ‘ऐतिहासिक भजन तथा शङ्खध्वनि वादक प्रतियोगिता–२०८२’ को तयारी पूरा भएको छ ।
युवापुस्तामा मौलिक नेपाली लोकभजन, धार्मिक संस्कार र सांस्कृतिक पहिचानप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित चितवनको रत्ननगर नगरपालिका–१५, माधवपुरस्थित खेल मैदानमा कार्यक्रम आयोजना गरिएको हो । आयोजक समितिका संयोजक मुक्तिप्रसाद लामिछानेले अधिकांश तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी अब लगभग तयारी अवस्थामा छौँ, केही साना काम मात्र बाँकी छन्, सम्पूर्ण व्यवस्थापनका लागि हाम्रो टोली सक्रिय छ ।”
हालसम्म देशभरबाट २४ भजन टोली दर्ता भइसकेको र शङ्खवादनतर्फ दर्ताक्रम जारी रहेको उहाँले बताउनुभयो । भोलिसम्म पनि शङ्खवादनका लागि दर्ता गरी सहभागी हुन सकिने व्यवस्था गरिएको छ । एकदिने कार्यक्रमका लागि आवश्यक व्यवस्थापन गरिएको बताउँदै उहाँले टाढाटाढाबाट आउने भजन टोलीका सदस्यहरूका लागि आज बेलुकादेखि नै गाँस र बासको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
सिन्धुली, काठमाडौँ, गोरखा, तनहुँलगायत विभिन्न जिल्लाबाट टोली सहभागी हुने जनाइएको छ । जिल्लाका अन्य भजन टोली पनि सहभागी हुने संयोजक लामिछानेले बताउनुभयो । माधवपुर क्षेत्रका पाँच भजन टोली आयोजक भएकाले प्रतियोगितामा सहभागी नहुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी वडा नं १५ का आयोजक भएकाले प्रतियोगितामा भाग लिँदैनौँ, स्वागत मात्र गर्छौं ।” भजन प्रतियोगिताको निर्णायकमा सङ्गीतकार अर्जुन पोखरेल, बबिता बानियाँ ‘जेरी’ तथा साहित्य क्षेत्रबाट एक जना रहने र शङ्खवादनतर्फ हरिहर मन्दिर रत्ननगर टाँडीका पण्डित निर्णायक रहने उहाँले जानकारी दिनुभयो ।
उत्कृष्ट भजन प्रस्तुति दिने टोलीमध्ये प्रथम पुरस्कार रु ४० हजार, द्वितीय रु ३० हजार, तृतीय रु २० हजार र सान्त्वना पुरस्कार रु १० हजार प्रदान गरिने छ । शङ्खवादनतर्फ प्रथम रु पाँच हजार, द्वितीय रु तीन हजार र तृतीय रु दुई हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि आवश्यक शङ्ख आयोजक समितिले उपलब्ध गराउने जनाइएको छ ।
प्रतियोगिताको विषयवस्तु धर्म र संस्कृतिसँग सम्बन्धित हुनुपर्ने तथा कुनै पनि राजनीतिक वा भड्किलो विषय समावेश गर्न नपाइने नियम बनाइएको छ । प्रत्येक समूहलाई प्रस्तुतीकरणका लागि १० मिनेट समय दिइनेछ । सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासनसँग समन्वय गरिएको छ ।
कार्यक्रममा करिब सात हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ । माधवपुर मन्दिर तथा धार्मिक सङ्घसंस्था समन्वय समितिको पहलमा आयोजना गरिएको कार्यक्रम भोलि माघ २४ गते बिहान १० बजेदेखि सञ्चालन हुनेछ । माधवपुर क्षेत्रलाई भविष्यमा धार्मिक–सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको संयोजक लामिछानेले बताउनुभयो ।
राष्ट्रियस्तरमा प्रतियोगिता सञ्चालन गर्न ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता व्यवस्थापनका लागि करिब रु सात लाख खर्च हुने अनुमान गरिएको छ । रत्ननगर–१५ बाट रु एक लाख ५० हजार बजेट विनियोजन गरिएको छ भने बाँकी रकम सहयोग सङ्कलनमार्फत जुटाइनेछ ।आयोजक समितिले यस कार्यक्रमलाई केबल प्रतियोगितामा सीमित नराखी नेपाली धर्म, संस्कृति, लोकसङ्गीत र सामाजिक एकताको संरक्षण अभियानका रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































