गण्डकी, हाइकर्स क्लब नेपालले पोखरा र आसपासका गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विगत सात वर्षयता सञ्चालन गर्दै आएको हाइकिङको ६७औँ शृङ्खला फेवाताल किनाराको पदमार्ग ‘राउण्ड फेवा, भ्युफेवा’ मा सरसफाइसहित सम्पन्न गरेको छ ।हरेक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङको यो शृङ्खला फेवातालको किनारस्थित रानिवनभित्रको पदमार्ग ‘राउन्ड फेवाः भ्यु फेवा’को सरसफाइसहित सम्पन्न गरिएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो ।
हाइकिङका माध्यमबाट विभिन्न गन्तव्यको प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ आदि कार्य गरिँदै आइएको उहाँले बताउनुभयो । उहाँका अनुुसार हाइकिङका क्रममा पदमार्ग क्षेत्रमा रहेको प्लाष्टिकजन्य फोहर चार बोरा सङ्कलन गर्दै त्यसको व्यवस्थापन गरिएको थियो ।पोखरामा विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरू हरेक महिनाको तेस्रो शनिबार हाइकर्स क्लब नेपालले सञ्चालन गर्दै आएको हाइकिङमा सहभागी बन्ने गरेका छन् । राष्ट्रिय समाचार समिति (रासस)



















































































































































