काठमाडाैँ, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समिति’ को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभएको छ ।सभापति दाहालले वार्षिक प्रतिवेदनमा विधेयकका दफाबार छलफलसम्बन्धी विज्ञ, मन्त्री र सचिव सबैको सहभागितामा कानुन विधेयकमाथि छलफल गर्दै आएको प्रष्ट पार्नुभयो ।
समितिको प्रतिवेदनमा २०८१ साउन १ गते देखि २०८२ असार मसान्तसम्म समितिबाट भएगरेका कामकारबाही र विधेयकको अवस्था, सदस्यको उपस्थिति, निर्णय र प्रतिवेदहरू समावेश गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा औपचारिक रूपमा १०४ वटा बैठक सम्पन्न भएका छन् । ती बैठकमध्ये ८६ वटा बैठक विधेयक व्यवस्थापनको कार्यमा, चार वटा ऐन कार्यान्वयन मापनसम्बन्धी, पाँच वटा अध्ययन अनुसन्धानसम्बन्धी र नौ वटा अन्य विषयमा केन्द्रित रहेका सभापति दाहालले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































