मनाङ, आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै गएको छ । देशैभर निर्वाचनको तयारी तीव्र र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् । विकट एवम् हिमाली जिल्ला मनाङमा तयारी भइरहेको अवस्था छ । तर, हिमपातले निर्वाचनलाई प्रभावित पार्नसक्ने अवस्था देखिएको छ ।
यहाँको माथिल्लो क्षेत्रमा भने हिउँका कारण मतदान केन्द्र र आसपासका क्षेत्र हिउँले सेताम्मे बनेको छन् । हिउँले ढाकिएका मतदान केन्द्र अनुगमन, तयारीमा कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । “यतिबेला निर्वाचनको तयारी मुख्य बनेको समयमा हिमाली क्षेत्रमा सकस भएको छ, अनुगमन, मतदान केन्द्रको व्यवस्थापन गर्नुपर्ने समय हो, तर हिमपातले समस्या भएको छ”, उहाँले भन्नुभयो ।
तल्लो क्षेत्रमा चिसो बढिरहेको छ, भने माथिल्लो क्षेत्र हिउँले सेताम्मे भएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “एक त हिमाली क्षेत्रका अधिकांश बासिन्दा जाडो छल्न बाहिर गएका छन्, सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकामा निर्वाचनको तयारी गर्न सकस भएको छ ।” हिउँले बाटो नै नदेखिने अवस्थामा रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।
कूल मतदाता सात हजार रहेको छ, भने यहाँ एक अस्थायी गरी २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसमध्ये माथिल्लो क्षेत्रका मतदान केन्द्र हिउँले भरिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका अहिले हिउँले सेताम्मे रहेका छन् । उहाँले भन्नुभयो, “माघ अन्तिम सातादेखि चैत पहिलो सातासम्म मनाङ फर्कने स्थानीयवासी हिमपातले फर्कन सकेका छैनन्, निर्वाचनका लागि अब छिट्टै फर्कने अपेक्षा गरिएको छ, तर हिमपातले यात्रा सहज बनाउनका लागि सडक सञ्जालको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।”
चार वटा स्थानीय तह रहेको यस जिल्लाका हिमपात हुने समय भएकाले जोखिमयुक्त देखिएका छन् । तीन पालिका सडक सञ्जालको पहुँचमा रहेका छन् । तर, नार्पाभूमि गाउँपालिकामा हालसम्म पनि सडक सञ्जालको पहुँच पुगेको छैन । जसले यहाँका निर्वाचन कर्मचारी, मतपेटिकालगायतका निर्वाचनमा आवश्यक सामग्री ढुवानीमा पनि समस्या हुने देखिएको छ ।
नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी छ, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । नार्पाभूमिका पाँच र मनाङ ङिस्याङका नौ वटा मतदान केन्द्र हिउँले ढपक्क छोपिएको अवस्थामा रहेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यहाँ प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धा हुने भएको छ । छ वटा दलको मनोनयन दर्ता भए पनि नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसलाई समर्थन गर्ने भएपछि नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मङ्गोल नेशनल अर्गनाइजेनबीच प्रतिस्पर्धा हुने भएको छ ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































