कैलाली । जनअपेक्षा पूरा गर्दै देशलाई सम्हाल्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न प्रतिनिधि सभाका उम्मेदवार बिजयबहादुर स्वाँरले अपिल गरेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका स्वाँरले मतदाता भेटघाटका क्रममा विषम परिस्थितमा देश सम्हाल्ने विषय मुख्य रहेको बताएका हुन् ।
उनले निर्वाचन क्षेत्रका जनताको आवश्यकता र समस्या आफूले बुझेको बताउँदै आगामी पाँच वर्षमा इमानदार भएर ती सबै बाचा पूरा गर्ने समेत बताए । उनले भने, “हामीले कुनै पनि दलको विरोध गर्दैनौं, स्वच्छ प्रतिस्पर्धा गर्दै लोकतान्त्रिक अभ्यास अनुसार जनताको विश्वास जितेर, जनताकै लागि काम गर्ने हो । विकास, सुशासन र समृद्धि नै हाम्रा एजेन्डा हुन् ।”
उनले भ्रष्टाचार र कुशासनबाट आजित जनतालाई सुशासनको प्रत्याभूत गराउन नीतिगत सुधार गर्नुपर्ने बताए । कैलाली–२ का मतदातासँग भेटघाट गर्दै उनले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकता विषयमा काम गर्नुपर्ने उनको भनाइ छ । “देश सम्हाल्न जनताको विश्वास बोकेर कर्तव्यबोधका साथमा काम गर्नुपर्ने छ । उनले भने, “म यही माटोमा हुर्केको, सबैले चिनेजाने उम्मेदवार हुँ । जनताको उत्साहले निर्वाचित हुनेमा ढुक्क छु ।”
प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्र ल्याउन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेकाले अब स्थिर सरकारमार्फत् परिणाम दिने गरी काम गर्नुपर्ने उनले बताए ।
















































































































































