महोत्तरी । दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खर्चको जोहो गर्न थालेका छन् । सधैँ खर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका हुन् । दशहरा (दसैँ), दीपावली र छठपर्वअघि विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्काउने मधेसको स्थापित परम्पराका कारण यहाँका गरिब परिवारले अतिरिक्त आर्जनको अवसर पाएका छन् ।
किसानको खेतपातीमा श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक अहिले माटोको खोजीमा निस्कन्छन् । दसैँमा कमेरे (सेतो), चिम्टाइलो ढपहेँलो) र रातो माटोको माग हुने भएकाले श्रमिकका परिवार माटो खोज्न र बेच्न जुटेका छन् । पहेँलो र कमेरे माटो ठूलठूला पोखरीका डिल, नदी किनारको भिर र पुराना खाल्डा नजिक पाइन्छ । रातो माटो लिन चुरे पहाडका थुम्काहरूमा पुग्नुपर्ने भङ्गाहा–४ की हेमनी सदा मुसहरले बताउनुभयो । “पवनी (पर्व)लाई हामीले साँचेर राखेको केही हुँदैन । दैनिक काम गरेर आउने रकमले जीविकोपार्जन भइरहेको छ”, उहाँले भन्नुभयो, “हाम्रा लागि पवनीभित्रै अवसर आउँछन्, अहिले माटो बेचेर दशहरा मेलाका लागि खर्च बनाउँदैछौँ ।
” दशहरा खाने, पिउने, रमाइलो गर्ने पर्व भएकाले यसका लागि बढी खर्चको जोहो गर्नुपर्ने उहाँको भनाइ छ । अहिले माटो खोज्न, खन्न र ओसार्न बस्तीबस्तीबाट समूहमा निस्कने गगरिएको उहाँले बताउनुभयो । ग्रामीण बस्तीमा अधिकांश बाँसका चोयाको बारसहितका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठअघि माटोले पोतेर रङग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले श्रमिकले अतिरिक्त नगदको जोहोमा जोड्दै छन् ।
अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह, विभिन्न खेतका डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । अहिले गरेको मेहनतले आफ्नो घर पोत्न, दुर्गामेला खर्च र पवनीमा घरखर्चको व्यवस्थापन गर्न सकिने स्थानीय भुठ्ठी सदाले बताउनुभयो । नवरात्रको आज चौथो दिनसम्ममा भङ्गाहा–६ की पुर्नी महराले रु पाँच हजारको माटो बेचिसक्नुभएको छ । अझै दुई–तीन दिन मेहनत गर्दा थप रु पाँच–सात हजार आम्दानी हुने जनाउँदै उहाँले यसले पर्व खर्चको व्यवस्थापन हुने बताउनुभयो ।
“दशहरा पर्व सुरु भएसँगै गरिब बस्तीका महिलाले घर पोत्ने, रङग्याउने काम पनि पाएका छन् । अरु बेलाको भन्दा अलि बढी पारिश्रमिक पाइने हुँदा श्रमिकहरूलाई यो पनि अवसर बन्ने गरेको छ”, उहाँले भन्नुभयो । महोत्तरीका भङ्गाहा, मेघरोल, मदनपट्टी, पर्सा, धरमपुर, भीमगढ, मझौलिया, बनरा, गोरहन्ना, निगौल, बिसरपुर गौशाला रजखोरबिर्ता र धनसपुरसहितका थारु बस्तीमा अहिले माटो सङ्कलन गरी बेच्नेको व्यस्तता देखिन्छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, विभिन्न रङका माटो सङ्कलन गरी बेच्न व्यस्त छन् ।
घरघरमा हाँस, कुखुरा र परेवा पाले पनि थारु बस्तीका घरहरू सफा चिटिक्क देखिन्छन् । घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला अब्बल देखिन्छन् । अहिले थारु महिलाको सङ्गतले अन्य समुदायका गरिब महिला पनि माटो सङ्ग्रहमा लागेका छन् । अहिले माटो जम्मा गर्नसके मेलामा रमाउन र स–साना नानीहरूको खानपिनको रहर पुर्याउन सहयोग पुग्ने भएकाले माटो सङ्कलनमा जुटेको स्थानीय आसवती चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले जम्मा गरेको माटो दसैँपछिको दीपावली र छठसम्म बिक्री हुन्छ ।
मधेसका ग्रामीण बस्तीमा बाँसका कच्चीघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने भएकाले लिपपोत गर्न माटो आवश्यक पर्ने चौधरीको भनाइ छ । प्रत्येक वर्षको दसैँ, तिहार र छठमा घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिलालाई माटो बेचेर चाडपर्वको खर्च जोहो गर्ने अवसर बन्ने उहाँले बताउनुभयो । पछिल्ला वर्षहरूमा बस्तीबस्तीमा पक्कीघर बन्ने थालेपछि यो कामको विकल्प खोज्ने बेला आएको श्रमिक महिला बताउँछन् । —
































































































































































