कैलाली, — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा रहेको नमुना ग्रामीण विद्युत सहकारी संस्थाको २०औँ वार्षिक साधारण सभा तथा नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। अब सहकारीले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। संस्थाले करिब २४ लाख रुपैयाँको लगानीमा भवन निर्माण सम्पन्न गरेको जनाएको छ।
संस्थाका अध्यक्ष भिम सिंह जाब्लीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा जिल्ला ग्रामीण सहकारी संस्थाका अध्यक्ष कृष्ण खत्री विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले नमुना ग्रामीण विद्युत सहकारीले नौनिया क्षेत्रमा विद्युत सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले सहकारीको भूमिका ग्रामीण क्षेत्रमा अझ प्रभावकारी बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा उपभोक्तामैत्री सेवा र थप सुधार आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष भिम सिंह जाब्लीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी संस्थाका प्रबन्धक डिल बहादुर साउदले आर्थिक वर्ष २०८१/०८२ को ५० लाख ४९ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण तथा आर्थिक वर्ष २०८३ वैशाख मसान्तसम्मको करिब ४९ लाख रुपैयाँ बराबरको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा पूर्व अध्यक्ष महाबिर साउद, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक उदय सिंह बि.सी., सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष दिल बहादुर सापकोटा र पूर्व कार्यपालिका सदस्य टेक बहादुर मिजार लगायतले संस्थाले ग्रामीण क्षेत्रमा पुर्याएको सेवाको प्रशंसा गरेका थिए।
कार्यक्रमकै अवसरमा संस्थालाई योगदान पुर्याउने पूर्व अध्यक्ष, लेखा समिति सदस्य तथा नियमित रूपमा विद्युत महसुल बुझाउने उपभोक्ताहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव वीर बहादुर साउदले गर्नुभएको थियो।



















































































































































