कैलाली-कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जेठ १८ गते उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जेठ १४ मा पाण्डेयसहित प्रकाश शाह लागूऔषधको मुद्दामा पक्राउ परेका थिए । त्यसपछि दुवैजनालाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा लगिएको थियो । झाडापखालाको उपचारपछि अस्पतालबाट फर्कने बेला पाण्डेय हतकडीसहित फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । अहिले फरार थुनुवाको खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायब उपरिक्षक जोशीले जानकारी दिए ।