डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ।
संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी बोहराका श्रीमान् भीमबहादुर बोहराको असामयिक निधनपछि आयोजित श्रद्धाञ्जली सभामा उक्त सहायता रकमको चेक हस्तान्तरण गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष बर बहादुर बोहराको उपस्थितिमा मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार सदस्यहरूले लिने लघुऋणको अनिवार्य बिमा गरिएको हुन्छ। यस बिमाले घरमूलीलाई समेत समेट्ने भएकाले सदस्यको निधनजस्ता भवितव्यका अवस्थामा सम्बन्धित ऋण मिनाहा हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कलावती बोहराको कर्जा मिनाहा गर्नुका साथै सदस्य सुरक्षण कोषबाट थप आर्थिक सहायता उपलब्ध गराइएको हो।
किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरूको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै ‘जन्मदेखि मरणोपरान्त’ सम्म विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाका अनुसार सदस्य सुरक्षण कोषमार्फत हालसम्म विभिन्न शीर्षकमा आफ्ना सदस्यहरूलाई कुल ३४ करोड ९२ लाख ४६ हजार ९ सय रुपैयाँ आर्थिक सहायता वितरण गरिसकिएको छ।
संस्थाले यस्ता सामाजिक सुरक्षण कार्यक्रमले सदस्य र उनीहरूको परिवारलाई विपद् तथा दुःखद परिस्थितिमा महत्वपूर्ण राहत पुगेको विश्वास व्यक्त गरेको छ।






















































































































































