कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।
गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा प्रशिक्षक विद्या राई, विषय विज्ञ रामहरि ओझा, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशका महासचिव भानुभक्त आचार्य, सञ्चारिका समूह सुदूरपश्चिमकी अध्यक्ष चाँदनी आचार्य, घोडाघोडी सञ्चारकर्मी समूहका अध्यक्ष खेम ढुंगाना, अनलाइन टिभी पत्रकार सङ्घ नेपाल सुदूरपश्चिम प्रदेशका महासचिव टिकाराम साउदलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा लोकु सिंह ठकुरीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन पदमराज ओझाले गरेका थिए।
प्रमुख अतिथि भरत शाहले पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि बर्दगोरिया गाउँपालिकाले उदाहरणीय पहल गरेको बताउँदै खोज पत्रकारिता लोकतन्त्र, सुशासन र जवाफदेहिताको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले यस्ता तालिमले दक्ष, जिम्मेवार र व्यावसायिक पत्रकार उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष मिथुन गौतमले स्थानीय सरकारले पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उद्घाटन र समापनजस्ता औपचारिक समाचारभन्दा विकास, सुशासन, जनचासो र स्थानीय समस्यामा आधारित खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्न तालिम आयोजना गरिएको बताए। उनले स्थानीय तहका राम्रा काम, कमजोरी र जनताका वास्तविक आवाजलाई तथ्यका आधारमा बाहिर ल्याउन पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा राखे।
तालिममा खोज पत्रकारितासम्बन्धी सहजीकरण पत्रकार विद्या राईले गरिरहेकी छन् भने सुशासन सम्बन्धी विषयमा विषय विज्ञ रामहरि ओझाले प्रशिक्षण दिएका छन्।
बर्दगोरिया गाउँपालिकाका अनुसार तालिममा बर्दगोरिया, जोशीपुर, घोडाघोडी, लम्किचुहा र भजनी क्षेत्रका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको छ।


















































































































































