कैलाली : आईतबार रातिदेखि देशभरका अधिकांस भुभागमा ठूलो मात्रामा वर्षा भइरहेको छ। अविरल वर्षासँगै ठूली गाड (खोलामा) बाढी आएपछि ज्यान बचाउन खोलाकै ठूलो ढुंगामा चढेका कैलालीको मोहन्याल गाउँपालिका ४, खिमडीका एक दम्पती उद्दारको पर्खाइमा छन्।
मोहन्याल गाउँपालिकामा एक स्थानीयका अनुसार बाढी आएपछि ठूली गाडकाे ढुंगामा चढेका मोहन्याल गाउँपालिका–४, खिमडीका ५१ वर्षीय लोकबहादुर तारामी मगर र उनकी पत्नी ४७ वर्षीया बिर्मादेवी तारामी मगर उद्दारको पर्खाइमा छन्।
बगरमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूले खोलाको बीच भागमा रहेको बगरमा बनाएको झुप्रोसमेत बाढीले बगाएको स्थानीयलाई उद्धृत गर्दै जोशीले बताए। खोलामा बाढी आएपछि ती दम्पती ज्यान जोगाउन ढुंगामा चढेको हुन सक्ने उनले अनुमान लगाए।
ती दम्पतीको हेलिकोप्टरबाट मात्र उद्दार सम्भव रहेको स्थानीयहरुको भनाइ छ। ‘ती दुई जनाको उद्दार तत्काल गर्नु जरुरी छ। खोलामा बाढी बढे उनीहरूलाई बगाउन सक्ने छ,’ उनले भने।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले उक्त घटनाबारे आफूलाई केही समयअघि मात्रै जानकारी आएको बताए। ‘ती व्यक्तिको एक्ज्याक्ट लोकेसन पत्ता लगाएर उद्दारका लागि पहल गर्नेछौं,’ उनले भने।