Baigyanik Media

Advertisment

SKIP THIS

केन्द्र सरकारले नसुन्दा कोरोना संक्रमण फैलियो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारको बेवास्ताका कारण मुलुकमा कोरोना भाइरसको संक्रमण भयावह हुने अवस्था सिर्जना भएको आरोप लगाउनु भएको छ । केन्द्र सरकारले प्रदेशको आग्रह नमान्दा कोरोना संक्रमण भयावह उन्मुख भएको उहाँले आरोप लगाउनुभयो ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भारतमा कोरोनाको संक्रमण तीब्र रुपमा फैलिनु अघि नै त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था गर्न केन्द्र सरकार समक्ष अनुरोध गरेको भएपनि सुनुवाई नभएकाले अहिलेको अवस्था आएको बताउनुभयो ।

हामीले भारतमा भयावह नहुँदै त्यहाँ रहेका नेपालीहरुलाई भित्र्याउनु पर्छ भनेका थियौं मुख्यमन्त्री भट्टले भन्नुभयो, केन्द्र सरकारले हाम्रो अनुरोध सुनिदिएको भए अहिले यो अवस्था आउने नै थिएन ।नेपालमा लकडाउन सुरु भएका बेलासम्म भित्रिएका करीब डेढ लाख मध्ये दुई जनामा मात्रै कोरोना संक्रमण देखिएको मुख्य मन्त्री भट्टले बताउनुभयो ।

त्यसपछि लामो समयसम्म सीमा नाका सिल गरियो । जब भारतमा संक्रमण ब्यापक भयो, तब मात्रै यहाँका सीमा नाकाबाट आउन दिइयो,उहाँले भन्नुभयो,त्यसपछि त यहाँ पनि संक्रमणको दर ह्वात्तै बढ्यो । आज जे भएको छ त्यसैको परिणाम हो ।

सोमबारसम्म सुदूरपश्चिममा ४ हजार ७ सय ४५ जना संक्रमित भएको उहाँले जानकारी दिनुभयो । समुदायमा फैलिने चिन्ता रहेको बताउँदै उहाँले सबै क्षेत्र र व्यक्ति सम्वेदनशील रहेको बताउनुभयो । हामी सबैको प्रयासले नियन्त्रण कार्यमा सफलता प्राप्त गर्नु पर्छ,उहाँले भन्नुभयो,समुदाय तहमा पुग्यो भने बर्वाद हुन्छ ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलसहित राजपाले असार १० गतेदेखि अवरोध गर्दै आएका थिए । प्रतिपक्षी दलको अवरोधकै कारण बजेटमाथिको छलफल समेत हुन नदिएपछि सरकारले छोटो बाटोबाट चालू आर्थिक वर्षको बजेट पारित गरेको थियो । प्रतिपक्षी दलका सांसदहरुले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्नुपर्ने लगायत मागहरु राखेर बैठक अवरोध गर्दै आएका थिए । त्यही क्रममा मुख्यमन्त्रीले मंगलबार सभालाई सम्बोधन गर्नु भएको हो ।

सम्बोधनका क्रममा मुख्यमन्त्री भट्टले प्रतिपक्षी दलले जनतालाई ढाट्ने काम गरिरहेकोले जनता माझ भ्रम छर्ने काम नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,प्रतिपक्षी साथीहरुले कोरोनाका नाममा ९३ करोड खर्च भयो, हिसाब देउ भन्नु हुन्छ । तर, हामीले ५० देखि ५३ करोड खर्च मात्र गरेका छौं, अनि बाँकी हुँदै नभएको खर्चको हिसाब कताबाट दिनु ? ।

खर्च भएको रकम मध्ये पनि २४ करोड सीधै स्थानीय तहलाई राहत र व्यवस्थापनका लागि पठाइएको बताउनुभयो । चैत दोस्रो सातादेखि कोरोनाको संक्रमण सुरु भएलगत्तै सरकारले अनेक निर्णय गरेर काम गरेको भएपनि प्रतिपक्षी दलले असार १० गते आएर एकाएक कोरोनाको विषयलाई लिएर प्रदेश सभाको बैठक चल्न नदिने कार्यले आफूलाई अचम्मि तुल्याएको मुख्यमन्त्रीको भनाई छ ।

लगातर बैठक अवरुद्ध गरेकाले बजेट माथिको छलफल गर्ने सांसदको अधिकार पनि हनन् हुने अवस्था आयो,उहाँले भने,लोकतन्त्र ब्यवहारमा देखिनु पर्ने सवाल हो । मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा बाढी र पहिरोबाट असार सुरुदेखि सोमबारसम्म ४३ जनाको मृत्यु भएको प्रदेश सभालाई जानकारी गराउनुभयो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation