बौनियाँ/विद्यालयस्तरीय बालबाटिका क्रिकेट प्रतियोगिताको उपाधि आयोजक बालबाटिका बिद्या मन्दिर बौनियाले जितेको छ । कैलाली लम्कीको गुरुकुल इङलिस मेडियम स्कुललाई ५ विकेटले पराजित गर्दै आयोजक बालबाटिकाले प्रतियोगिताको तेस्रो संस्करणको उपाधि उचालेको हो ।
उपाधिसँगै आयोजक बालबाटिकाले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको गुरुकुल लम्किले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । मुडा स्थित खेलमैदानमा बुधबार भएको फाइनलमा गुरुकुल लम्किले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा आयोजक बालबाटिकाले १९ ओभरमा ५ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भएको हो ।
बालबाटिकाका दिपक बोहराले ५० रन र नरेन्द्र सार्किले ३५ रनको योगदान गरे । यस्तै, कमल कुवरले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ गुरुकुलका ३ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको गुरुकुल एकाडेमिले सत्यवती एकेडेमीले १८.३ ओभरमा अल आउट हुँदै १ सय ३३ रन बनाएको थियो । गुरुकुल एकाडेमिका सुनिल भण्डारीले ५६ रन र बसन्त सिंह कार्कीले ३१ रनको योगदान गरे ।
बालबाटिकाका बलर सुबोध अएरले ३ ,नरेन्द्र सार्की, कमल कुवर र लक्ष्मण बि क ले २/२ बिकेट लिए । आज नरेन्द्र सार्की म्यान अफ द म्याच बन्न सफल भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बालबाटिकाका बसिर अहमद भए । उनले १६ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, उत्कृष्ट ब्याट्सम्यान बालबाटिकाका दिपक बोहरा र उत्कृष्ट बलर बालबाटिकाका लक्ष्मण बि क भए । उदीयमान खेलाडीको उपाधि बालबाटिकाका कमल कुवरले पाए । यी तीनै विधाका विजेताले १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बालबाटिका बिद्या मन्दिर बौनियाको आयोजनामा १७ फागुनबाट सुरु भएको प्रतियोगितामा कैलाली, कञ्चनपुर गरि ८ वटा विद्यालयको टिमको सहभागिता रहेको थियो ।