मध्यविन्दु (नवलपरासी), प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा राजनीतिक चहलपहल तीव्र बनेको छ । राजनीतिक दलहरू आ–आफ्ना चुनावी एजेन्डा तय गर्दै सङ्गठन विस्तार, घरदैलो अभियान, मतदाता भेटघाट तथा छलफलमा केन्द्रित भएका छन् ।
निर्वाचनको समय नजिकिँदै जाँदा जिल्लाभर चुनावी माहोल तातेको छ । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ मा तीन स्वतन्त्रसहित १६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख दलतर्फ नेपाली कांग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरे, नेकपा (एमाले) बाट भागिरथ सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजन गौतम, नेपाल कम्युनिस्ट पार्टीबाट लोकप्रसाद भुर्तेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकचन्द्र बस्ताकोटी उम्मेदवार रहनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ लाई नेपाली कांग्रेसको परम्परागत बलियो क्षेत्रका रूपमा लिइन्छ । विसं २०४८ देखि भएका सबै संसदीय निर्वाचनमा कांग्रेसले यस क्षेत्रमा विजय हासिल गर्दै आएको छ । विसं २०६४ देखि कांग्रेस नेता डा शशाङ्क कोइराला यस क्षेत्रबाट लगातार चार पटक निर्वाचित हुनुभएको थियो । गत निर्वाचनमा डा कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दै रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमलाई दुई हजार ७६२ मतान्तरले पराजित गर्नुभएको थियो । यसपटक पनि गौतम पुनः चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ ।
मनोनयनपछि उम्मेदवारहरू घरदैलो कार्यक्रम, टोलस्तरीय भेला तथा अन्तक्र्रियामार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन् । उम्मेदवारहरू विकास, सुशासन, रोजगारी, पूर्वाधार र जिल्लाका दीर्घकालीन समस्याको समाधानलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउने बताउँदै आएका छन् ।
कावासोती नगरपालिका–१ की मतदाता नारायणी भुसालले यसपटक निर्वाचनलाई विगतभन्दा फरक ढङ्गले हेरिरहेको बताउनुभयो । “हरेक चुनावमा विकासको कुरा सुनिन्छ, तर गाउँमा सिँचाइ र बजारको समस्या उस्तै छ । यसपटक जित्नेले पाँच वर्षभित्र देखिने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
त्यस्तै, बुलिङटार गाउँपालिकाकी स्थानीय बासिन्दा लक्ष्मीमाया थापाले पहाडी क्षेत्रमा सडक र स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको बताउनुभयो । “बिरामी पर्दा सदरमुकाम पुग्न घण्टौँ लाग्छ । सडक र स्वास्थ्यचौकीको स्तरोन्नति हाम्रो पहिलो आवश्यकता हो”, उहाँले भन्नुभयो । युवाहरूको मुख्य चासो रोजगारी र अवसरको अभाव रहेको बताएका छन् ।
गैँडाकोट नगरपालिकाका युवा मतदाता सुरज पौडेल भन्नुहुन्छ, “पढाइ सकेपछि काम नपाएर विदेश जाने बाध्यता छ । यहाँ उद्योग, पर्यटन र सीपमूलक कार्यक्रम बढे युवाहरू गाउँमै बस्न सक्छन् ।”देवचुली नगरपालिका–१० की मतदाता अनिता रेग्मीले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा प्रभावकारी हुनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो । “महिला र बालबालिकाका कार्यक्रम कागजमै सीमित छन् । व्यवहारमा लागू हुने नीति चाहिन्छ”, उहाँले भन्नुभयो ।
भौगोलिक रूपमा निर्वाचन क्षेत्र नम्बर १ मा जिल्लाको सदरमुकामसहित पहाडी क्षेत्र पर्दछन् । यस क्षेत्रमा गैँडाकोट र देवचुली नगरपालिका, कावासोती नगरपालिकाका ११ वडा तथा बुलिङटार गाउँपालिकाका सबै वडासहित कूल ५२ वडा समेटिएका छन् । पहाडी र तराई भूभाग मिसिएको यस क्षेत्रको आवश्यकता पनि फरक–फरक रहेको स्थानीयवासी बताउँछन् ।
निर्वाचन कार्यालयका अनुसार नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा मात्रै एक लाख ३७ हजार ८१ मतदाता रहेका छन् । यस क्षेत्रमा ५८ मतदानस्थल र १५७ मतदान केन्द्र तोकिएका छन् ।
नयाँ राजनीतिक दलप्रति बढ्दो चासो, स्वतन्त्र उम्मेदवारको उपस्थिती र जनतामा बढेको सचेतनाले यस क्षेत्रको निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूका प्रतिबद्धता र घोषणालाई नागरिकले नजिकबाट नियालिरहेका छन् । विकास, रोजगारी र सुशासनप्रतिको जनअपेक्षा पूरा गर्न सक्ने उम्मेदवारको खोजीमा मतदाता रहेको देखिन्छ । यही जनभावनाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचनलाई यसपटक विशेष महत्वका साथ हेरिएको छ ।





















































































































































