महेन्द्रनगर, आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा कर्मचारी (जनशक्ति) परिचालनको गृहकार्य थालिएको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत दिलीप भाटले यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जनशक्ति विवरण बुझाउन थालिएको जानकारी दिनुभयो । “हामीले कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कर्मचारी विवरण बुझाएका छौँ”, सूचना अधिकृत भाटले भन्नुभयो, “अन्यत्र पनि विवरण सङ्कलन कार्य अन्तिमतिर पुगेको छ ।”
नौ मुख्य निर्वाचन अधिकृत र सात निर्वाचन अधिकृतको कार्यालय रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि तयारी पूरा भइसकेको छ । यहाँ सात हजारभन्दा बढी नेपाल प्रहरी, पाँच हजारभन्दा बढी सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालित हुनेछन् । भने सशस्त्र प्रहरी बलले १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन बेशसमेत सञ्चालनमा ल्याएको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले पनि निर्वाचनका लागि खटिने जनशक्तिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । “विवरण सङ्कलन अन्तिम चरणमा छ”, निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिचन्द्र जोशीले भन्नुभयो, “मङ्गलबारसम्म विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति विवरण बुझाउने छौँ ।” कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा स्वतन्त्रसहित ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































