धनगढी । डोटीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा यसपटक ९ वटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
डोटीमा यसपटक पुराना अनुहारको पलायन र नयाँ युवा अनुहार चुनावी मैदानमा उत्रिनुले सर्बत्र चासोको विषय बनेको छ । नेकपा एमालेले भने डोटीमा युवा नेता दीपक धामीलाई यसक पटक चुनावी मैदानमा उतारेको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई पार्टीले उम्मेदवार बनाएपछि यहाँको चुनावी माहोल झन तताएको छ । ३२ वर्षको उमेर हदको बहसमा खरो उत्रिएका धामी अन्य उम्मेदवारको तुलनामा कान्छो र जोसिलो उम्मेदवारका रूपमा डोटीमा चर्चामा छन् ।
अनेरास्ववियुको महासचिव हुँदै अध्यक्ष बनेपछि संसदीय निर्वाचनको टिकट पाएका धामी आफूलाई युवाहरूको प्रतिनिधि र पाकाहरूको भरोसाले चुनाव जित्नेमा विश्वस्त रहेको बताउँछन् । कच्ची सडक, गुणस्तरीय शिक्षाको अभाव र स्वास्थ्य उपचारका लागि स्टेचरमा बोकिनुपर्ने डोटीको बाध्यता अन्त्य गर्नु आफ्नो प्राथमिकता रहेको धामीले बताए ।
उनले अहिले निर्वाचन प्रचारप्रसारको अभियान अन्तर्गत मतदातासँग भोट माग्न व्यस्त रहेको बताए । उनले म मेरो उमेर, समय र सीप डोटेली जनताको जीवन बदल्न खर्चिने बताए । शिखर नगरपालिकाबाट विद्यार्थी राजनीति सुरु गरेर केन्द्रमा स्थापित भएका युवा नेतामा पर्छन धामी ।
यो पालीको निर्वाचनमा एमाले उम्मेदवार धामीलाई विजयी गराउन एमाले डोटीका नेता तथा कार्यकर्ता एक ढिक्का भएर चुनाव प्रचार प्रसार अभियानमा लागेको पार्टी सचिव पदमराज भट्टले बताए ।
डोटीमा यसपटक नेपाली कांग्रेसले पूराना नेता भरतबहादुर खड्कालाई आफ्नो उम्मेदवारका रूपमा अघि सारेको छ । उनले डोटीबाट पटक÷पटक अवसर प्राप्त गरी परिक्षण भइसकेका व्यक्ती हुन् ।
चुनावी मैदानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रतिष्पर्धामा उतारेको छ ।
भट्ट मुख्यमन्त्री हुँदा प्रदेश राजधानी गोदावरी तोकेको विषयलाई लिएर उनीमाथि जिल्लामा आरोप लाग्ने गरेको छ ।
डोटीमा २०७९ सालको समानुपातिक मत परिणामको तथ्याङ्कले कांग्रेस र नेकपा एमालेबिचको मतान्तर झण्डै बराबरी छ । २०७९ मा कांग्रेसले समानुपातिकतर्फ २२ हजार ५१६ मत ल्याउँदा एमाले २२ हजार ४५६ मत छ । यी दुई दलबीच मात्र ६० मतको अन्तर रहनुले यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
उक्त निर्वाचनमा माओवादी केन्द्रले ६ हजार ९सय २४ र एकीकृत समाजवादीले २ हजार ३ सय ७३ मत समानुपातिकमा पाएका थिए ।













































































































































