कञ्चनपुर— कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बचनबहादुर सिंहले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार सिंहले क्षेत्रको समग्र विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित योजनाहरू सार्वजनिक गरेका हुन्।
सार्वजनिक प्रतिबद्धतामा उनले सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, सरल र जनमैत्री बनाउने उल्लेख गरेका छन्। भ्रष्टाचारविरुद्ध कडाइका साथ उत्रिने, जनताको गुनासो सुन्ने प्रभावकारी संयन्त्र बनाउने तथा जनप्रतिनिधि र नागरिकबीच नियमित संवाद कायम गर्ने उनको योजना छ।
शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक क्याम्पसको स्तरोन्नति, विद्यालयमा डिजिटल कक्षा सञ्चालन, छात्रवृत्ति विस्तार तथा विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता सिंहले जनाएका छन्। साथै विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई विशेष सहयोग उपलब्ध गराइने उनले बताएका छन्।
स्वास्थ्य सेवातर्फ प्रत्येक वडामा स्वास्थ्य संस्था स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने योजना सार्वजनिक गरिएको छ। स्वच्छ खानेपानी र सरसफाइमा सबै नागरिकको पहुँच पुर्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानलाई मल, बीउ र उपकरणमा अनुदान दिने, सिँचाइ सुविधा विस्तार गर्ने, कोल्ड स्टोर स्थापना गर्ने तथा उत्पादनको उचित बजारीकरण गर्ने योजना उनले अघि सारेका छन्। युवालाई सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र उद्यमशीलतामा जोड दिँदै रोजगारी सिर्जना गरिने उनको भनाइ छ।
पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्रे, पुल निर्माण, चार लेन सडक विस्तार तथा धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र विकास गरिने प्रतिबद्धता सिंहले जनाएका छन्। भूमिहीन, दलित र विपन्न परिवारका लागि आवास निर्माण र भूमि समस्या समाधानमा पहल गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।
सिंहले कञ्चनपुर–२ को समृद्धि आफ्नो राजनीतिक जिम्मेवारी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आफूलाई विजयी गराई विकासको अभियानलाई सफल बनाउन मतदातासँग अपिल गरेका छन्।
















































































































































