टीकापुर (कैलाली), रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कैलालीको टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार यसै वर्षबाट सञ्चालन गर्ने तयारी गरिएको छ । शीतभण्डार निर्माणको अन्तिम चरणका विद्युत् जडान तथा ‘रेफ्रिजेरेसन’लगायतका काम भइरहेका छन् ।
निर्माणको म्याद २०८३ मङ्सिर मसान्तसम्म रहेकाले यसै वर्षबाट सञ्चालन गर्नेगरी काम भइरहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेलले बताउनुभयो ।शीतभण्डार निर्माणपछि रानी जमरा कुलरिया शीतभण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिनेछ । रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल कुला समितिले यतिबेला शीतभण्डारको सेयर वितरण गरिरहेको छ । एकाइका प्रमुख कँडेलले शीतभण्डार गत वर्ष ८५ प्रतिशत निर्माण सम्पन्न भएको र यस वर्ष बाँकी काम सुरु भएको जानकारी दिनुभयो ।
“बाँकी रहेको निर्माण र विद्युत् तथा रेफ्रिजेरेसन कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “यी दुई कार्यका लागि छुट्टाछुट्टै ठेक्का गरी रु एक करोड ३४ लाख ६६ हजार ९१५ मा निर्माण सुरु भएको छ । अहिले आयोजनाको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लगानी छ ।”
यसअघि आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानीमा रु सात करोड छ लाख ६९ हजारमा शीतभण्डार निर्माण भएको हो । एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार विशेष गरी आलु भण्डारणका लागि प्रयोग गर्ने योजना छ । “आयोजनाले शीतभण्डार सञ्चालन कार्यविधि निर्माण गर्दैछ र व्यावसायिक योजना बनाइसकेको छ”, उहाँ भन्नुहुन्छ, “भवन निर्माणपछि जल उपभोक्ता मूल समितिलाई हस्तान्तरण गर्ने र केही समय सञ्चालनमा लागि आयोजनाले सघाउनेछ ।”
शीतभण्डार सञ्चालनका लागि मूल कुला समितिमा आबद्ध किसान उपभोक्ताले यसअघि रु एक करोड ३१ लाख लागत सहभागिता जनाएका छन् । यसपटक रु ३३ लाख लगानी गर्नुपर्नेछ । यस वर्ष जल उपभोक्ता समितिले रु सात लाख लगानी गरेको बाँकी रकम उठ्ने क्रममा रहेको जनाइएको छ । उपभोक्ताले शीतभण्डार निर्माणका लागि तिर्नुपर्ने रकममा २०८१ सालमा टीकापुर नगरपालिकाले रु ७४ लाख सहयोग गरेको थियो भने चालु आवमा जानकी गाउँपालिकाले पनि रु १५ लाख छुट्याएको छ ।
उपभोक्ता समितिमा चार हजार ५९६ सेयर सदस्य छन् । जसमा ७१ हजार ६८३ सेयर कित्ता रहेको छ भने सेयर रकम ७१ लाख ६८ हजार ३०० पुगेको रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल कुला समितिका सचिव परशुराम महतोले बताउनुभयो । “अहिले पनि किसानलाई सेयर वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “शीतभण्डार सञ्चालन भएमा यहाँका आलु र फलफूलखेती गर्ने किसानलाई राहत हुनेछ ।”
जानकी गाउँपािलकाका अध्यक्ष गणेश चौधरीले आयोजना सुरु गर्दा सिँचाइ सुविधा पुर्याउने र कृषि उत्पादन बढाउने उद्देश्यमात्र रहे पनि विस्तारै शीतभण्डार, विद्युत् उत्पादनजस्ता कार्य गरी सुविधा विस्तार गरेको बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “हाम्रा पुर्खाले खनेर बनाएका कुला आधुनिकीकरण भएका छन् । खेतमा सिँचाइ सुविधा पुगेको छ । आयोजना विस्तारका क्रममा बाटो, पुलपुलेसा, तटबन्ध निर्माणसँगै बिजुली उत्पादन गरी वार्षिक रु १५ करोडको विद्युत बिक्री भइरहेको छ । अब हामीले हाइड्रोपावरको किसानले पनि सेयर पाउनुपर्ने माग गरेका छौँ ।”
अध्यक्ष चौधरीले हरेक परियोजनाबाट लक्षित वर्गलाई फाइदा हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै शीतभण्डार सञ्चालनले पनि यहाँका किसानको आर्थिकस्तरमा सुधार आउनुपर्नेमा जोड दिनुभयो । टीकापुर साना सहरी खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खडक धामीले सिँचाइ आयोजनाले किसानको क्षमता अभिवृद्धि, उत्पादन वृद्धिसँगै उत्पादन भण्डारणमा समेत सघाउँदा खुसी लागेको बताउनुभयो ।
मूल कुला समिति टीकापुरका अध्यक्ष कुमारराज शाहीले शीतभण्डार सञ्चालनमा सघाउने सिँचाइ आयोजना, स्थानीय पालिका टीकापुर र जानकी, सेयर लिएर सघाउने किसान सबैलाई धन्यवाद दिनुभएको छ । पहिले रानीजमराको कमाण्ड क्षेत्र टीकापुर, जानकी, लम्कीचुहामात्र थियो भने अहिले तेस्रो चरणसम्म पुग्दा क्षेत्र विस्तार भएर भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर, बर्दगोरिया गाउँपालिका पनि थपिएकाले त्यहाँका किसान सेयर सदस्य बन्न पाउने व्यवस्था छ ।
सिँचाइ आयोजनाले शीतभण्डार सञ्चालनमा आउने भएपछि यहाँ आलुखेती प्रवर्द्धनमा किसानलाई सघाइरहेको छ । आयोजनाले चालु आवमा दुई हेक्टरमा आलुको बिजवृद्धि सहयोग र १६२ हेक्टरमा आलु क्षेत्र विस्तार सहयोग कार्यक्रम गरेको छ । यसमा २५६ किसान लाभान्वित भएका छन् । आयोजनाले आगामी वर्ष आलु बालीको उत्पादन, बजारीकरण र स्याहारका लागि रु तीन करोड बजेट प्रस्ताव गरेको छ । आगामी वर्ष २५० हेक्टरमा आलुखेतीमा सघाउने योजना बनाएको जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

















































































































































