दमौली (तनहुँ), व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर साहित्यिक महोत्सव सुरु भएको छ । नगरभित्र रहेका विभिन्न भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवले बहुभाषिक साहित्यिक सिर्जनालाई एउटै मञ्चमा जोड्न सफल भएको छ ।
महोत्सवको पहिलो दिन विभिन्न समुदाय र भाषाका स्रष्टाहरूले कविता, गीत तथा गजल वाचन गरेका छन् । आयोजकका अनुसार मगर भाषाका नौ, थकाली एक, कुमाल पाँच, दुरा छ, मुस्लिम पाँच, दरै आठ, गुरुङ छ, डोटेली एक, बोटे एक तथा संस्कृत भाषाका सात गरी जम्मा ४९ वटा साहित्यिक सिर्जना वाचन गरिएको हो ।
महोत्सवमा शनिबार खुला कविता र गजल वाचन हुने र त्यसका लागि ५० जनाले नाम दर्ता गराएको प्राज्ञ सदस्य अन्जना तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी स्रष्टाहरूले आफ्ना मातृभाषामा सिर्जना प्रस्तुत गर्दै पहिचान, संस्कृति, सामाजिक यथार्थ, प्रेम, पीडा, परिवर्तन र समसामयिक विषयवस्तुलाई समेटेका थिए । बहुभाषिक वाचनका कारण महोत्सवमा भाषिक विविधता मात्र होइन, सांस्कृतिक सौहार्द र आपसी सम्मानको सन्देश पनि प्रवाह भएको तिमिल्सिनाको भनाइ छ ।
व्यास नगर प्रज्ञा परिषद्ले नगर क्षेत्रमा रहेका लोपोन्मुख भाषा तथा संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । साहित्यिक महोत्सवले व्यास नगरलाई साहित्यिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । राष्ट्रिय समाचार समिति (रासस)















































































































































