तनहुँ, एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ४६ लाख सात हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को साउन महिनादेखि पुस मसान्तसम्म उक्त राजश्व सङ्कलन गरिएको हो ।
साउन महिनामा रु सात लाख पन्ध्र हजार, भदौमा रु सात लाख २२ हजार, असोजमा सात लाख ४० हजार, कार्तिकमा रु सात लाख १४ हजार, मङ्सिरमा सात लाख ८८ हजार र पुसमा नौ लाख २५ हजार राजश्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।
उक्त अवधिमा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुई उद्योग दर्ता भएका कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिनुभयो । उद्योगतर्फ एक हजार २३ नविकरण र वाणिज्यतर्फ ९८८ नविकरण भएका छन् । त्यसैगरी, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छ भने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ । राष्ट्रिय समाचार समिति (रासस)























































































































































