राँझा (बाँके), जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विजेता पुरस्कार खजुरावासी हाल अमेरिका निवासी लीलबहादुर थापाको सौजन्यमा प्रदान गरिने आयोेजक न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गर्नुभएको थियो ।
खजुरा-४ डीगाउँस्थित मिनी रङ्गशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा सङ्कटा फुटबल क्लब, काठमाडौँलाई १-० ले पराजित गर्दै गोर्खा ब्वाइज स्पोट्र्स क्लब, बुटवल (रुपन्देही)ले विजयी सुरुआत गरेको छ । खेलको पहिलो हाफमै कप्तान नीराजन खत्रीले १३औँ मिनेटमा गरेको एकमात्र निर्णायक गोल खेलको परिणाम बन्न पुग्यो । गोर्खा ब्वाइजले सुरुदेखि आक्रामक खेल प्रदर्शन गर्दै सङ्कटा माथि दबाब सिर्जना गरेको थियो ।
दोस्रो हाफमा सङ्कटा खेलमा फर्किने प्रयासमा देखिए पनि गोर्खा ब्वाइजको सुदृढ डिफेन्स तोड्न नसक्दा खेल १-० मै समाप्त भएको थियो । प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, सङ्कटा स्पोट्र्स क्लब काठमाडौँ, आयोजक न्यू डाफे स्पोट्र्स क्लब बाँके, जेविएम फुटबल एकेडेमी लखनउ, काक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपिएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी आठ टोलीको सहभागिता छ । राष्ट्रिय समाचार समिति (रासस)

























































































































































