बेइजिङ, अमेरिका र चीनबीच व्यापारिक तनाव फेरि चर्किने सङ्केत देखिएको छ । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि बेइजिङले त्यसको ‘कडा प्रतिआक्रमण’ गर्ने स्पष्ट सन्देश दिएको छ ।अमेरिकाले चीनले इरानलाई सैन्य सहयोग गर्न लागेको भन्ने रिपोर्ट सार्वजनिक गरेसँगै यो विवाद सतहमा आएको हो । ट्रम्पले अर्को महिना चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भनिएको भेटअघि नै तेहरानलाई हतियार सहयोग गरेमा चिनियाँ सामानमा ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको छ ।
यही दिन अमेरिकी सञ्चारमाध्यम सिएनएनले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै चीनले आगामी केही हप्ताभित्र इरानलाई नयाँ हवाई रक्षा प्रणाली उपलब्ध गराउन सक्ने सङ्केत गरेको खबर सार्वजनिक गरेको थियो । यसअघि सप्ताहन्तमा द न्युयोर्क टाइम्सले पनि बेइजिङले काँधबाट प्रहार गर्न सकिने मिसाइलहरू पठाएको हुन सक्ने दाबी गरेको थियो ।
तर चीनले यी सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा ती रिपोर्टहरू ‘पूर्णतया बनावटी’ भएको प्रतिक्रिया दिनुभयो । उहाँले अमेरिकाले यस्ता दाबीलाई बहाना बनाएर थप कर लगाउने प्रयास गरे चीनले कडा प्रतिक्रिया दिने स्पष्ट पार्नुभयो ।
चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ । विशेषगरी चीन इरानको प्रमुख तेल खरिदकर्ता हो । यद्यपि दुई देशबीच औपचारिक सैन्य गठबन्धन भने छैन । विश्लेषकहरूका अनुसार बेइजिङले इरानसँगको सम्बन्धलाई मुख्यतः आर्थिक र व्यावहारिक दृष्टिकोणबाट हेर्ने गरेको छ । यससँगै चीनले खाडी क्षेत्रका अन्य देशहरूसँग पनि बलियो आर्थिक सम्बन्ध कायम राखेको छ । पछिल्लो द्वन्द्वका क्रममा इरानले ती देशहरूलाई लक्षित गरी गरेको आक्रमणप्रति चीनले आलोचना समेत गरेको छ । (रासस/एएफपी)
























































































































































