लमजुङ, कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो । असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो । साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो । तर पछिल्ला वर्षमा मौसममा आएको परिवर्तनसँगै रोपाइँ हुने समय असारमा वर्षाद् नहुँदा पानीको अभावमा किसानको विगतको ‘क्यालेन्डर’ फेरिन थालेको छ ।
यो वर्ष असार सकिन लाग्दा खोला र खोल्सामा पानी नहुँदा अहिलेसम्म लमजुङका धेरै खेतमा रोपाइँ हुन सकेको छैन । अझै पनि किसान पानी पर्ने आशामा आकाशतिर हेरिरहेका छन् । धान रोपाइँको मुख्य समय मानिने असारको अन्त्यसम्म पनि जिल्लामा अपेक्षित रूपमा रोपाइँ हुन नसक्दा कतिपय किसान चिन्तित छन् । समयमा पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा नभएका क्षेत्रका किसान बढी प्रभावित भएका छन् । कतिपय स्थानमा खोलाको पानी, कुलो तथा अन्य वैकल्पिक स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै वर्षाको प्रतीक्षामा छन् ।
कृषि विकास कार्यालयका प्रमुख किरण सिग्देलका अनुसार असार २७ गतेसम्म जिल्लामा करिब ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ । समयमा पानी नपर्नु र सिँचाइ सुविधा नभएका क्षेत्रमा पानीको अभाव हुनु रोपाइँ ढिलाइको मुख्य कारण रहेको उहाँ बताउनुहुन्छ । गत वर्ष भने यो समयमा धेरै रोपाइँ भइसकेको थियो । अघिल्लो वर्षको तुलनामा यस बर्ष रोपाइँ निकै पछाडि परेको प्रमुख सिग्देलले बताउनुभयो । “समयमा पानी नपरेका कारण रोपाइँ ढिला भएको छ । केही ठाउँमा खोलाको पानी तथा अन्य स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै पानीको पर्खाइमा छन्,” उहाँले भन्नुभयो ।
धान रोपाइँको समय स्थानअनुसार उत्पादनमा फरक पर्छ । गर्मी क्षेत्रका किसानले केही ढिला रोप्दा पनि उत्पादनमा ठूलो असर नपर्न सक्छ भने चिसो क्षेत्रका लागि समयमै रोपाइँ गर्नु आवश्यक हुन्छ । चिसो क्षेत्रमा ढिलो रोप्दा किराको समस्या आउने, बाली बिग्रने तथा उत्पादनमा असर पर्न सक्ने भएकाले असार १५ भित्रै रोपाइँ सक्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।
पछिल्लो समय लमजुङमा स्थानीय जातको धानभन्दा हाइब्रिड जाततर्फ किसानको आकर्षण बढेको छ । हाइब्रिड जातको धान ढिलो रोप्दा तुलनात्मक रूपमा कम असर पर्ने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसतर्फ आकर्षित हुँदै गएको पाइन्छ । कृषि मजदुरको अभाव र अनुकूल समयमा पानी नपाउनु पनि किसानका लागि चुनौती बनेको छ ।
कृषि विकास कार्यालयका अनुसार लमजुङमा कुल ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये नौ हजार २९९ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । दोर्दी गाउँपालिकामा पनि यस वर्ष धान रोपाइँ गत वर्षको तुलनामा निकै पछाडि परेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख निरञ्जन पौडेलका अनुसार असार अन्त्यसम्म पालिकाभित्र करिब ५५ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा करिब ७० देखि ८० प्रतिशतसम्म रोपाइँ सकिइसकेको थियो । दोर्दी गाउँपालिकाका अधिकांश क्षेत्र आकाशे पानीमा निर्भर छ । स्थायी सिँचाइ सुविधा न्यून रहेका कारण किसान वर्षाको भरमा खेती गर्न बाध्य छन् । पर्याप्त पानी नपर्नु र खेतमा भल नआउनु यस वर्ष रोपाइँ ढिलाइको कारण बनेको छ ।
दोर्दी गाउँपालिका–४ नौथर सेराका किसान लक्ष्मण गुरुङ पनि ढिला रोपाइँबाट प्रभावित हुनुहुन्छ । करिब आठ रोपनी जग्गा रहेका उहाँले पानी पुगेको क्षेत्रमा मात्र रोपाइँ गर्नुभएको छ । “करिब चारदेखि साढे चार रोपनी जति जग्गामा रोपाइँ भइसकेको छ । बाँकी जग्गामा पानी नभएकाले रोपाइँ रोकिएको छ । पानी परेपछि रोप्ने तयारीमा बसेका छौँ,” उहाँले भन्नुभयो ।
दोर्दी गाउँपालिका–८ दुबार गाउँकी किसान लालमाया मिजार पनि खेत तयार पारेर पानीको प्रतीक्षामा हुनुहुन्छ । गत वर्ष यही समयमा पाँच–छ हल खेतमा रोपाइँ सकिसकेको भए पनि यस वर्ष गाउँका अधिकांश किसानको रोपाइँ बाँकी रहेको उहाँले बताउनुभयो । दुबार, बन्सार, खिमचोक क्षेत्रमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । विगतमा मूल फुटेर खोला–नाला बढेपछि त्यही पानी प्रयोग गरेर रोपाइँ गर्ने गरिए पनि यस वर्ष पर्याप्त पानी नपरेपछि किसान अन्यौलमा रहन बाध्य छन् ।
अर्कातर्फ लामो समयसम्म रोपाइँ नभएर बीउ राख्दा उत्पादनमा असर पर्ने किसानको चिन्ता छ । सामान्यतया ४० दिनभित्र रोप्नुपर्ने धानको बीउ कतिपय किसानको दुई महिनासम्म पुग्न लाग्दा रोप्न नपाएको किसान मिजारको गुनासो छ । मौसममा आएको फेरबदलले लमजुङका किसानको खेती गर्ने समय र परम्परागत कृषि क्यालेन्डरमा समेत परिवर्तन ल्याएको छ । रोपाइँका लागि खेत र बीउ तयार छ, पानीको अभावले काम रोकिएको धान रोपाइँ प्रभावित भएको छ ।समयमै रोपाइँ हुन नसक्दा धान पाक्ने समय पछाडि सर्ने र उत्पादन घट्ने किसानमा चिन्ता उत्तिकै छ । असारमा सकिनुपर्ने रोपाइँ साउन कुर्नुपर्ने बाध्यता पर्नुले बदलिँदो प्राकृतिक अवस्थासँग किसानले गरिरहेको सङ्घर्ष उदाहरण बनेको छ ।जनक श्रेष्ठ / रासस


























































































































































