काठमाडौँ, प्रतिनिधिसभाको बैठक अहिले बिहान ११ः०० बजे बस्दैछ । बैठकमा विभिन्न विधेयक एवं प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची छ ।प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०८१/८२ तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) आजको बैठकमा पेस गर्नुहुने कार्यसूची रहेको छ ।
त्यसैगरी बैठकको कार्यसूचीमा प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने रहेको छ ।बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सो अनुमतिपछि उहाँले सोही विधेयक बैठकमा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
त्यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ माथि सदनमा छलफल गरियोस् भन्ने र त्यसपछि त्यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।त्यसैगरी, मन्त्री यादवले नै अन्तरराष्ट्रिय श्रम सङ्गठनकै श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।त्यसपछि उहाँले अन्तरराष्ट्रिय श्रम सङ्गठनकै श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं ८१) लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा पेस गर्नुहुने कार्यसूची रहेको छ ।राष्ट्रिय समाचार समिति (रासस)



























































































































































