कैलाली । बर्दगोरिया गाउँपालिकाका कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माको पार्थिव शरीरमा नेकपा एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले विश्वकर्माको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।
त्यसैगरी, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भीम बहादुर कुँवर र नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापति लगायत पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा स्थानीयवासीले पनि पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
४० वर्षीय विश्वकर्माको आइतबार हृदयघातका कारण निधन भएको थियो। उहाँको असामयिक निधनले बर्दगोरिया गाउँपालिका तथा नेकपा एमाले परिवारलाई गहिरो क्षति पुगेको भन्दै उपस्थित नेताहरूले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

























































































































































