दाङ । दाङमा भरुवा बन्दुक प्रहार गरी ज्यान लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ५ बरलाबोट टोल बस्ने ५५ वर्षीया शेर बहादुर केसीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।बिहीबार दिउँसो दाङको जनसेवा सामुदायिक वनमा मालुकाको पात टिप्न गएको बेला केसीले भरुवा बन्दुकले हानेर २८ वर्षीय जुगरू चौधरीको हत्या गरेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानमा केसीले भरुवा बन्दुकले गोली हानी चौधरीको हत्या गरी फरार रहेको खुलेपछि उनको खोजतलास गरेको हो।खोजतलासको क्रममा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले केसीलाई पक्राउ गरेको हो। केसीसँगै प्रहरीले एक थान भरुवा बन्दुक, एक सय ७८ थान छर्रा , एक सय ६६ ग्राम बारुद, सुतिको कपडाको टुक्रा ५ थान बरामद गरेको थियो। केसीमाथि हातहतियार खरखजाना तथा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















































































































































