
नवलपरासी। मितेरी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको नवैं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता तथा प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख अथित्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कलवारले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । ग्रामीण भेगका जनताहरुको आर्थिक क्रियाकलाप बलियो बनाउन सहकारी संस्था बलियो माध्यम रहेको चर्चा गर्दै सहकारी संस्थाको अधिकान्श साधारणसभाहरुमा रासायनिक मलहरुको उद्योग खोलिनु पर्ने माग आउने गरेकोमा रासायनिक मलको उद्योग स्थापना बारे आफुले जोडदार रुपमा आवाज उठाउदै आएको बताउदै किसानद्वारा गरिने आन्दोलनमा आफुले आन्दोलनको अगुवाइ गर्ने जिकिर गर्नुभयो ।
आगामी दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको हो । सहकारी संस्थाकाे सधारण सभामा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव , वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव , राष्ट्रिय सहकारी बैंक संचालक मुक्ति नाथ पाण्डे, गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता ,वडा नं.८ का निवर्तमान वडाध्यक्ष कादिर अलि अन्सारी , पुर्व लाइजन अधिकृत विश्वबन्धु यादव ,शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका सचिव भोला प्रसाद कुर्मी ,रामअवतार कोईरी लगायतको सहभागीता थियो ।
२०७१ सालमा स्थापना भएको सहकारीले ४ करोड ९१ लाख ९० हजार ५० रुपैयाँ बराबरको आर्थिक कारोबार गरी ६ लाख १७ हजार ९ सय ४९ रूपैयाँ बराबरको शुद्ध नाफा गरेको संस्थाका सचिव प्रकाश पाण्डेले जानकारी दिनुभयो ।