काठमाडौं – सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन्।कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो।कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी आरोपमा लामिछानेलाई अदालतले धरौटी मागेको हो। लामिछानेले धरौटी रकम बुझाइसकेका छैनन्।प्रहरीले भने लामिछानेलाई तत्कालै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ। लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले लामिछानेलाई काठमाडौं लैजाने तयारी रहेको बताए।लामिछानेलाई काठमाडौंपछि पनि सहकारी ठगी गरेको अर्को स्थानमा लगिने छ। लामिछानेलाई चितवन, रुपन्देही र पर्सामा सहकारी ठगीको आरोप छ।‘जहाँ-जहाँ पहिले बयान लिइएको छ, त्यहाँ त्यहाँ उहाँलाई उपस्थित गराइन्छ,’ ती प्रहरी अधिकृतले भने।बिहीबार नै रविका पार्टनर गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीसँग ८५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।यस्तै, लीला पछाईसँग ३६ लाख, रामबहादुर खनालसँग १५ लाख, मीना गुरुङ र आरती गुरुङसँग ५-५ लाख, कृष्ण गुरुङसँग एक लाख धरौटी माग गरिएको छ।लामिछानेसहित ४४ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ७ गते अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो।उनीहरूसँग सम्पत्ति शुद्धीकरणको कसुर र संगठित अपराध मुद्दासमेत आकर्षित गरिएको छ। सहकारी ठगीका मुख्य नाइके जिबी राई फरार छन्।





























































































































































