बौनियाँ,कैलाली/कुमाल जातिको परम्परागत पेशा र पहिचान लोपोन्मुख अवस्थामा पुगेको छ । चिम्ट्याइलो माटोलाई पिटेर, मुछेर आकार दिने कला कुमाल जातिको लोक संस्कृतिअन्तर्गत पर्दछ ।
काँचो माटो जता लग्यो त्यतै जान्छ’ भन्ने उखान उखानमै सीमित हुने अवस्था आउन थालेको छ । बुढापाकाले आफूभन्दा सानालाई अर्ती दिन प्रयोग गर्ने यो उखान यही पेशाको अनुशरण हो ।कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को बुटकौवा शान्ति टोलमा कुमाल जातिको चार घर परिवार रहेको छ । विगत केही वर्ष अघि त्यो ठाउँमा माटाका भाँडा बनाउने परिवार प्रशस्तै भए पनि हाल खासै भेटिँदैनन् । अहिले यो कला जानेकालाई बुढेसकालले छोएको छ । नजानेकाहरू विदेश गए अथवा व्यापार र पसल गर्न थाले ।
माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चापदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै सङ्कटमा परेको हो । माटाका हण्डी, घैँटा, पाला, दियो, सुल्पा, आरीलगायतका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनमा सहज मानिन्छन् । ‘पहिलेजस्तो माटो पनि छैन । बस्ती बाक्लो भयो । जुन पायो त्यही माटोले भाँडा राम्रो बन्दैन’, यहाँका समुदायको गुनासो छ ।होण्डा (मदिरा बनाउन प्रयोग हुने भाँडो), घैंटो –पानी चिसो बनाउन प्रयोग गरिने भाँडो), हाँडी (मकै भुट्न प्रयोग हुने भाँडो), खुत्रुकी (पैसा बचत गर्न प्रयोग हुने भाँडो) जस्ता महत्वपूर्ण सामग्री बनाउने हस्तकलाको लोप हुन थालेको छ । जसले गर्दा कुमाल जातिको पहिचान ओझेलमा पर्ने सङ्केत देखिएको छ ।
माटोको भाँडा लोप हुनुको कारण प्लाष्टिकको भाँडा बजारमा आउनु, बाक्लो बस्तीका कारण चिम्ट्याइलो माटोको अभाव हुनु र आम्दानीभन्दा मिहिनेत धेरै गर्नुपर्ने भएकाले यो पेशा छाडेर अन्य काम गर्न बाध्य भएको कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–३ का ढोडे कुमालथारूले अनमोल अनलाईन टेलिभिजन संग एक कार्यक्रममा बताएका थिए।उहाँ बुढेसकालमा पनि आफ्नो पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । कार्तिकको पहिलो हप्तायता उहाँलाई कामको चटारोले छोएको बताउँछन् ।
स्थानीय बासिन्दा ५८ वर्षीय मानबहादुर कुमालथारूले पनि सानै उमेरदेखि बाबुबाट माटोको भाँडा बनाउने सीप सिक्नुभयो । उहाँले अहिलेसम्म यो व्यावसायिक पेशालाई अंगाल्दै आउनुभएको छ । उहाँको घरमा ८ जनाको परिवार छ । तर, छोराबुहारी र छोरी कसैले पनि पुर्खाको सीप आर्जन गर्नेप्रति चासो र चिन्ता नदिएकोमा मनमा सन्तुष्टि छैन । मान बहादुरले भन्नुभयो,‘परम्परागत रुपमा माटोबाट बन्ने हण्डी, खुत्रुके, घैँटा, गमला, शुल्पा, चिलिम, हुक्का, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारेर बिक्री गर्दै आइरहेका छौँ ।’ ‘मेहनत धेरै लाग्छ, आम्दानी थोरै हुन्छ ।’ अर्डर माग भएअनुसार गाउँघरमा, स्थानीय बजार मुडा, बौनिया, सुखड र लम्कीसम्म पुर्याउने गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय आधुनिकतासंगै कुमाल समुदायले अपनाउँदै आएको सीपमूलक पेशा र हस्तकलात्मक माटोका सामग्री बिक्री हुन छाडेपछि पेशा नै संकटमा पर्दै गएको उहाँ बताउनुहुन्छ । विशेषगरी प्लास्टिकका भाँडा निर्माण हुँदा माटोका सामग्री बिक्री हुन छाडेपछि पनि कुमाल समुदायको पुर्ख्यौली पेशा संकटमा परेको हो । अहिले गाउँभरमा मुस्किलले ४ जना वृद्धले मात्रै यो पेशालाई धानेका छन् । जीवनभर माटोका सामग्री बनाउँदै जीविकोपार्जन गर्ने यहाँका कुमाल परिवारका सदस्यहरु आजभोलि व्यस्त देखिन्छन् । कुमाल समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी गाउँघर र बजारसम्म पठाउने चटारो छ ।
माटोको अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा बनाउने काम केही वर्षदेखि कम हुन थालेको बताए । बुढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकाले पुख्र्यौली पेशा नै अहिले सङ्कटमा परेकोमा उनको दुःखेसो छ ।
स्थानीय ६४ वर्षीय हरि कुमाललगायत ४ जनाले मात्रै वर्षौँदेखि आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘मनग्ये आम्दानी हुँदैन, खान लाउनै पुग्दैन, सामग्री बेचेर आएको पैसाले नुनतेल, खुर्सानी, सोडासाबुन किन्नलाई हुन्छ ।’ ‘जेनतेन घरायसी गुजारा मात्रै चल्छ ।’ बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाललगायत सामग्रीले माटाका भाँडाको व्यापारलाई अप्ठ्यारोमा पारेको उहाँको भनाइ छ । गाउँघर, बजारमा तिहारको रौनक छाएसँगै तिहारको लागि आवश्यक सामग्री उत्पादन र खपत हुने आशामा रहेका विपन्न वर्गलाई पेशाको संरक्षण र प्रबर्द्धनका लागि स्थानीय सरकारले तालिम तथा लगानीको उपयुक्त वातावरण मिलाउन सहयोग गर्नुपर्ने माग छ । उहाँका अनुसार माटो र दाउराको अभाव र युवा पुस्ताको पेशाप्रति आकर्षण हुन नसक्दा यो पेशा नै लोप हुने अवस्था आएकोे हो । पहिले बस्तीमा माटाका भाँडा बनाउन चहलपहल हुने गरे पनि अहिले भाँडा बनाउन छाडेका छन् ।
करीब १५ वर्षअघिसम्म माटाका भाँडा बनाउने पेशा नै कुमाल समुदायको जीविकोपार्जनको प्रमुख स्रोतका रूपमा रहेको थियो । माटाका भाँडा बनाउने र घर घरमा भाँडा बेच्नका लागि पुग्ने चलन त्यसबेला रहेको थियो ।
पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रूपमा लिन थालेपछि सङ्कटमा परेको हो । परम्परादेखि माटाका भाँडा प्रयोग गर्दै आएका समुदायमा अहिले पूजापाठमा अतिआवश्यक भाँडामात्र प्रयोग हुँदै आएको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुको भनाइ छ ।स्थानीय सरकारले कुमाल समुदायका परम्परागत पेशा संरक्षणका लागि आधुनिक कार्यक्रम ल्याउन सकेको अवस्थामा फेरि त्यस्ता पेशा व्यवसाय संरक्षण हुने बुढापाकाको भनाइ छ ।
कुमालको अधिकाश घरमा चर्खा नै छैन ?
माटोको भाँडा निर्माण गर्न प्रयोग गरिने साधन चर्खा हो । यो साधन माटो, खसीबोकाको रौं मोलेर निर्माण गरिएको हुन्छ । यहाँका अधिकांश कुमाल जातिको घरमा चर्खा नै छैन, भएका चर्खामा पनि माकुराको जालो लागेको छ । कुमाल जातिको घरमा चर्खा नहुनु भनेको विद्यार्थीको झोलामा कापी, कलम नहुनु जस्तै हो । चर्खालाई घुमाउँदै माटोलाई हातले जता मोड्यो त्यतै माटोको स्वरुप आउँछ र निर्माण गरिन्छ चाहेको सामग्री । यही कला र पेशा कुमालको पहिचान हो ।
धर्म, संस्कृति परम्परा लोप हुन लागेको चिन्ता छ केही अग्रज कुमालहरूलाई । गाउँगाउँमा सिंहदरबार आएको भनिए पनि कुमाल जातिको संस्कृति संरक्षणमा कसैको चासो पुग्न सकेको छैन । युवा पुस्ता विदेश पलायन भएका छन् वा व्यवसायमा केन्द्रित भएका छन् । पिँढी कुरेर बस्ने बुढापाका जवानीमा माटोको भाँडा बनाएको सम्झिँदै बस्ने गरेका छन् ।
(हेर्नु होस् यो भिडियो सहित)