मङ्लबार, माघ २४, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

कृषि व्यवसायमा बदलिएको समाज

समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिनुभएको छ, भगवती देवकोटा ।

 

रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई चार पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुप¥यो । हिजोआज भने सोही समुदायले उहाँको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ । लामो समयसम्म यस व्यवसायमा रहनुभएकी देवकोटाले धेरै अनुभव सङ्गाल्नुभएको हुँदा छिमेकी पनि उहाँसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन् । समाजमा शिक्षा र चेतनाको विकाससँगै विभिन्न निकायबाट कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, एफएम रेडियो, टेलिभिजनलगायतका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह हुन थालेपछि अहिले यस व्यवसायमा सबैका सामु देवकोटा उदाहरणीय किसान बन्नुभएको छ । “परिवारमा धन कमाउने नहँुदा घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउन धेरै समस्या भएपछि तरकारी लगाइयो, बेच्न जाँदा समाजमा नानाथरि कुरा गर्ने, रात पर्न थालेपछि लुकेर बजारमा गएर तरकारी बेचेर घर फर्केका क्षण अहिले ताजै छन्”, उहाँले भन्नुभयो । आजभन्दा करिब एक दशक अघि उहाँले फलाएका तरकारी आनन्दले बिक्री गर्ने वातावरण समाजमा थिएन । त्यस समयमा तरकारी बेच्ने किसानलाई समाजले तल्लो दर्जाको रुपमा हेर्ने गरेको उहाँको अनुभव छ ।

 

 

आफैँले उत्पादन गरेका तरकारी, दिउँसो टिपेका साँझपखको समय छिमेकीले देख्ने डरले मौका छोपेर लुकेर घरबाट निस्कनुहुन्थ्यो । छोराछोरीको पढाइ खर्च, घर व्यवहार धान्न कमाइ नहँुदा उहाँलाई आम्दानीको निम्ति तरकारी लगाउँदा समाजको नकारात्मक भनाइ र व्यवहारले बेला बेलामा पिरोल्थ्यो । “आफूले उत्पादन गरेका कृषिउपज ढुक्कले बजारमा गएर बिक्री गर्न डराउनुपर्ने थियो”, उहाँले भन्नुभयो, “अहिले समाजको सोचाइ बदलिएको छ, किसानलाई सम्मानित पेसाका रुपमा लिँदा व्यवसायमा उत्साह बढेर आउँछ, सकुञ्जेलसम्म कृषिमै रमाउने हो ।” दैनिक त्यस समय रामपुरको बेझाड बजार चोकको चौतारीमा ४५ मिनेट हिँडेर बोरामा तरकारी बोकेर हस्याङफस्याङसँग पुग्नुहुन्थ्यो उहाँ । तरकारी बेचेको रकमले घरायसी सामग्री किन्नुहुन्थ्यो । तरकारी बजारमा बेच्न जाँदा अनेक कुरा गर्नेहरु अचेल तरकारी खेतीको सिको गर्छन र प्रशंसा गर्छन् । उहाँले सालिन्दा पाँचसात रोपनीमा समयानुसार विभिन्न जातका तरकारी लगाउनुहुन्छ ।

 

 

घरायसी प्रयोजनका अलावा वार्षिकरुपमा खर्च कटाएर रु दुई लाख तरकारीबाटै आम्दानी गर्दै आइरहेको उहाँका श्रीमान् पूर्णचन्द्र देवकोटाले बताउनुभयो । श्रीमान् श्रीमती यस व्यवसायमा संलग्न हुनुहुन्छ । तरकारी खेतीको रेखदेखमै दिन बितेको पत्तो हँुदैन । स्थानीय बजारमै तरकारी खपत भइरहेकाले बिक्री गर्ने झण्झट नभएको पूर्णचन्द्रको भनाइ छ । उहाँको खेतबारीमा काउली, बन्दा, आलु, धनियाँ, मुलालगायतका हरियाली तरकारी छन् । उहाँहरुले घरका खाली आँगनसमेत तरकारीले हराभरा बनाउनुभएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!