लम्की, नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बर्दगोरिया गाउँपालिका–२ मा निर्वाचन सम्पर्क वडा कार्यालय उद्घाटन गरिएको छ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कार्यालय स्थापना गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापाले बर्दगोरिया क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “जनताको भरोसा र समर्थनले मात्रै समृद्धि सम्भव हुन्छ । त्यस्तै थापाले बर्दगोरियाको कृषि, रोजगार, शिक्षा र आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर म निरन्तर खटिने बताए ।
त्यसैगरी एमालेकी केन्द्रीय सदस्य कमला कुमारी ओलीले संगठन सुदृढीकरणमार्फत निर्वाचनमा विजयी हुने आधार तयार पार्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘वडा–वडासम्म मजबुत संगठन र कार्यकर्ताको एकताले नेकपा एमाले पुनः जनताको पार्टीका रूपमा विजयी हुनेछ। यो सम्पर्क कार्यालय जनताको आवाज सुन्ने र समाधान खोज्ने केन्द्र बन्नेछ ।’
समारोहमा सहभागी वक्ताहरूले सम्पर्क कार्यालयले पार्टीको चुनावी अभियानलाई थप व्यवस्थित बनाउने र जनतासँग प्रत्यक्ष संवाद विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यालय उद्घाटन समारोहमा नेकपा एमालेकी केन्द्रीय सदस्य कमला कुमारी ओली, केन्द्रीय नेतृ पवित्रा तिमिल्सेना, प्रदेश समिति सदस्य नर बहादुर खड्का र भिम बहादुर कुवर, नेता डेजी पाण्डे र लक्ष्मी शाही, जिल्ला कमिटी सदस्य टंक ओली, गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती मगर, उपाध्यक्ष गोविन्द बि.क.लगायत एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।





















































































































































