कैलाली । नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएमा राज्यबाट पाउने तलब, भत्ता तथा अन्य सेवा सुविधाबापतको सम्पूर्ण रकम विपन्न परिवारका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्।
आइतबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै न्यौपानेले आफू निर्वाचित भएमा सांसदका रूपमा प्राप्त हुने सबै सेवा सुविधा त्याग गर्ने स्पष्ट पारे। उनले प्राप्त हुने तलब, भत्ता र अन्य सुविधाहरू निर्वाचन क्षेत्रका विपन्न परिवारका छोराछोरीलाई माध्यमिक तहसम्मको शिक्षामा सहयोग गर्न खर्च गरिने बताए।
राजनीतिलाई निस्वार्थ जनसेवाको माध्यम बनाउनुपर्ने उल्लेख गर्दै न्यौपानेले भने, “प्रतिनिधि सभा सदस्यको हैसियतले मैले प्राप्त गर्ने सम्पूर्ण सेवा सुविधाबाट यस क्षेत्रका विपन्न परिवारका सन्तानहरूलाई माध्यमिक तहसम्मको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” उनले आफ्नो कार्यकालभर पारदर्शिता कायम गर्न हरेक आर्थिक वर्षको अन्त्यमा खर्च विवरण सार्वजनिक गर्ने समेत घोषणा गरे।
व्यक्तिगत लाभसम्बन्धी सुविधा त्याग्ने घोषणा गरेका न्यौपानेले टीकापुरलाई पुनः शैक्षिक केन्द्र अर्थात् शिक्षाको ‘हब’का रूपमा विकास गर्ने बताए। साथै टीकापुर अस्पताललाई गेटा मेडिकल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा विकास गर्ने तथा अस्पतालमा सिकलसेल र जलन उपचारका लागि छुट्टै विभाग स्थापना गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
पूर्वाधार विकासतर्फ उनले कैलाली–१ को समृद्धिका लागि कर्णाली नदीमा स्थायी तटबन्धनसहित दुई लेनको सडक निर्माण गरी कर्णाली करिडोर विकास गर्ने, पर्यापर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने योजना अघि सारे। त्यसैगरी टीकापुर–जोशीपुर–भजनी सडकलाई चार लेनमा स्तरोन्नति गर्न पहल गर्ने बताए।
सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन भइसकेकाले तत्काल लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने उनले बताए। साथै सत्ती बजारमा रहेको शिवलिङ्गलाई ‘अन्तर्राष्ट्रिय शैवधाम’का रूपमा विकास गर्ने र थारु संग्रहालय निर्माण गर्ने विषयलाई पनि आफ्नो एजेन्डामा समेटेका छन्।
जनताका गुनासा र सुझावहरू प्रत्यक्ष रूपमा सुन्न आफ्नै सचिवालय सञ्चालन गर्ने र भ्रष्टाचारमुक्त सुशासन कायम गर्ने संकल्प समेत उनले व्यक्त गरेका छन्।
प्रतिबद्वतापत्रकाे पूूर्ण पाठ
आदरणीय आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
देशमा विशिष्ट परिस्थिति उत्पन्न भएर २०७४ मा हुनुपर्ने प्रतिनिधिसभाको आम निर्वाचन २०८२ सालमा हुन गइरहेको छ। आउँदो फागुन २१ गते हुने निर्वाचनमा मलाई नेकपा (एमाले) ले कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ मा उम्मेदवार बनाएर पठाएको छ। तपाईँहरूबीच मुलुकमा लोकतन्त्र स्थापना र परिवर्तनका पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएको लोकप्रिय पार्टीका तर्फबाट सूर्य चिन्हको उम्मेदवार बनेर आउँदा मलाई गर्व र जिम्मेवारी दुवै महसुस भएको छ। यस घडीमा लोकतन्त्र र परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। साथै, सहिदले देखाएको बाटोमा जनआकाङ्क्षाहरूलाई काँधमा बोकेर अनवरत रूपमा अगाडि बढ्दै यस क्षेत्रको विकास र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दछु।
२०७२ मा नयाँ संविधान निर्माण भएपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र र यसका महत्त्वपूर्ण उपलब्धि संस्थागत गर्ने बाटोमा अग्रसर छ। संविधानले तय गरेको समाजवादतर्फको यात्रा पूरा गर्न हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्ति गर्न प्रयासरत छौँ।
नेकपा एमाले सरकारमा भएका बेला यस क्षेत्रका रानी जमरा कुलरिया सिंचाइ आयोजना, सेती लोकमार्ग, प्राविधिक शिक्षालय, सती भन्सार, कृषि क्याम्पसहरू, हालको लम्की खक्रौला सडक जस्ता ठूला आयोजनाहरू निर्माण भएका छन्। टीकापुर नगरपालिकाको नेतृत्वमा रहँदा नागरिकको हितमा गरिएका उल्लेखनीय कामहरू यहाँहरूको बीचमा प्रमाणका रूपमा छन्। तीन वर्षअघि मैले प्रदेश सभाको चुनावी दौरानमा यस क्षेत्रको विकासका लागि जे जति योजना तथा परिकल्पना अघि सारेको थिएँ, अफसोच: म उक्त चुनावमा पराजित भएँ, ती मेरा एजेण्डा अधुरै रहे। प्रतिनिधि सभाको सदस्य हुनुको नाताले कानुन बनाउने काम मेरो प्रमुख प्राथमिकता हुनेछ। यसका साथै आफ्ना अधुरा एजेण्डालाई अझ परिष्कृत रूपमा विकास गरी थप योजनाहरू अगाडि बढाउने संकल्पसहित यो प्रतिबद्धता पत्र प्रस्तुत गरेको छु।
१. शहरी विकास सडक सञ्जाल र तटबन्धन:
कर्णाली कोरिडोर: कर्णाली किनारको सौन्दर्यता एसियामै अनुपम छ। मानव सभ्यताको विकास नदी किनारमै भएको हो तर यहाँ प्रत्येक वर्ष कर्णाली नदीमा आउने बाढीका कारण सिर्जना हुने कटान, डुबान र धनजनको क्षतिलाई कम गर्न स्थायी तटबन्धन गरी दुई लाइनको बाटोसहित कर्णाली कोरिडोर मार्फत पर्यापर्यटनको विकास गरी हजारौँ स्थानीय युवाहरूलाई रोजगारी सिर्जना गरिनेछ।
कर्णालीको पानी दुवै भँगालामा बाँड्न, नदीको बहाव क्षेत्र खुल्ला गर्न र व्यवस्थित उत्खननका लागि आवश्यक कानुन परिमार्जन गर्न पहल गर्नेछु। वन्यजन्तुबाट हुने नोक्सानी कम गर्न कर्णाली नदी किनारका वनका उपभोक्तालाई बफर जोनका उपभोक्ताले पाउने सरह सुविधा पाउने व्यवस्था गरिनेछ।
भजनी नगरपालिका स्थित काँडा नदीको फाडियादेखि भित्रियासम्म र पथ्रैया नदीको जोशीपुर-४ पटावपुरदेखि भजनी नगरपालिका-८ सोनामफाँटासम्म नदी तटबन्धन गर्न पहल गरिनेछ।
रानी जमरा कुलरियाको दुई चरणका काम पूरा भइसकेको छ, अझै पनि कयौँ काम हुन बाँकी छन्, बाँकी रहेका कामलाई पूर्णता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराई पूर्णता दिन पहल गरिनेछ।
रानी जमरा कुलरियाको कमाण्ड क्षेत्रमा रहेको कृषि भूमिलाई चक्लावन्दी गरी कृषि उद्योगका रूपमा स्थापित गर्ने र कृषि भूमिको करमा सहुलियतको नीति बनाउन पहल गर्नेछु।
सडक स्तरोन्नति: टीकापुर-जोशीपुर-भजनी सडकलाई चार लाइनमा स्तरोन्नति गरिनेछ।
बौनियाँ-जोशीपुर-भजनी सडकलाई चार लाइनमा स्तरोन्नति गरिनेछ।
बौनियाँ-लोहागढ-सिमराना-झवही-नवलपुर-मरियाघाट सडकलाई चार लाइनमा स्तरोन्नति गरिनेछ।
टीकापुर-पार्क-दौलतपुर सडक र टीकापुर सन्कट्टी सडकलाई चार लाइनमा स्तरोन्नति गरिनेछ।
निर्वाचन क्षेत्रलाई सहज हुने गरी कञ्चनपुर-बडरिया-राजागौडी-सिमराना-जोशीपुर-महादेउली-थापापुर-विष्नापुर-नवलपुर-बहादुरपुर-भर्तापुर-नारायणपुर सडकलाई चक्रपथको रूपमा विकास गरिनेछ।
सेती लोकमार्गको छिटो बिस्तार: उत्तर दक्षिण नाका जोड्ने रणनीतिक सडक योजना अन्तर्गत सरकारले टीकापुर-ताक्लाकोटसम्म जोड्ने ३५९ किलोमिटर बाटो निर्माण सुरुवात गरिसकेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको विकासमा युगान्तकारी परिवर्तन ल्याउन सक्ने सेती लोकमार्ग र चिसापानी-जङ्गलघाट-मंगलसेन सडकलाई मुख्य प्राथमिकतामा राखी पर्याप्त बजेट विनियोजन र शीघ्र काम गर्नको लागि पहल गर्नेछु।
एयरपोर्ट: यस क्षेत्रको टीकापुरमा रहेको हवाई सेवा (विमान स्थल) हाल बन्द अवस्थामा छ। हवाई मैदान विस्तार वा वैकल्पिक स्थानमा हवाई मैदान निर्माणका लागि प्रभावकारी पहलकदमी गरिनेछ।
नयाँ शहरी विकास: यस क्षेत्रका नागरिकहरूको जीवनस्तरलाई माथि उकास्न जोशीपुर, सती, दुर्गौली बजारलाई नयाँ सहरका रूपमा विकास गरि शहरी सुविधाहरू पुर्याइनेछ।
टीकापुरका मास्टर प्लान कार्यान्वयन: तत्कालीन टीकापुर विकास समितिका अध्यक्ष खड्गबहादुर सिंहको निधन पछि, टीकापुरको व्यवस्थित मास्टर प्लान ओझेलमा परेको छ। ५५ वर्षअघि देशमा दुई लाइनको राजमार्ग बन्ने बेलामा आठ लाइनको सडक नक्साङ्कन भएको टीकापुरको टाउन प्लान (मास्टर प्लान) अनुसार विकास पूर्वाधार कार्यान्वयन गर्नेछु।
काँडा ढिक, फरैला, खल्ला गोलौरी जस्ता डुबान क्षेत्रमा सडक, पानी निकास, बस्ती सुरक्षा सहित एकीकृत कार्यक्रम सञ्चालनका लागि पहल गरिनेछ।
झोलुङ्गे पुल: टीकापुर-७ बैदी डल्फिन क्षेत्रस्थित काँडा पथ्रैया नदी दोभानमा टीकापुर नगरपालिकाको बैदीबाट भजनी नगरपालिका ३ र ८ लाई जोड्ने तीनमुखे झोलुङ्गे पुल बनाइनेछ। जोशीपुर-३ स्थित काँडा नदीमा फाँडिया-प्रेमनगर गाउँ जोड्न झोलुङ्गे पुल बनाइनेछ। जानकी गाउँपालिका जगतपुरमा मालभुल-बनघुसामा झोलुङ्गे पुल बनाउन पहल गर्ने। टीकापुर नगरपालिका ८ का अर्गुवा र श्रीलङ्का जोड्न झोलुङ्गे पुल बनाइनेछ।
२. स्वास्थ्य, शिक्षा, खेलकूद, खानेपानी:
स्वास्थ्य: टीकापुर अस्पताललाई गेटा मेडिकल विश्वविद्यालयको आङ्गिक क्याम्पस वा मेडिकल कलेजको रूपमा विकास गरिनेछ।
टीकापुर अस्पतालमा सिकलसेल र जलनको उपचारका लागि तत्काल विभाग खडा गर्ने, बहुतले सेवा भवन निर्माण गर्न पहल गर्ने।
जोशीपुर गाउँपालिकामा आधारभूत विशेषज्ञ सेवासहितको २५ शैयाको अस्पताल विकास गर्न पहल गर्ने।
प्राविधिक शिक्षाको केन्द्र: शैक्षिक केन्द्रको नामले परिचित भइसकेको टीकापुरमा पुरानै शैक्षिक माहोल फर्काउन सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, प्राविधिक शिक्षा विस्तार र प्राविधिक विश्वविद्यालय स्थापना गरी शैक्षिक केन्द्रको रूपमा विकास गरिनेछ।
टीकापुर खेल मैदान, सुदूरपश्चिमको शान: टीकापुर खेल मैदानको मास्टरप्लान अनुसार नीति निर्माण गरी स्पोर्ट्स एकेडेमी सञ्चालनमा ल्याउने र जोशीपुर, जानकी, भजनीमा न्यूनतम पूर्वाधार भएका खेलकूद केन्द्रलाई विकास गर्नु मेरो मुख्य प्राथमिकता रहनेछ।
स्वच्छ खानेपानी: टीकापुर, जानकी, जोशीपुरमा सञ्चालित खानेपानी योजनाको प्राविधिक र गुणस्तरीय क्षमता बढाउन र टीकापुर ६, ७, ८ र ९ लाई लक्षित गरी नयाँ आयोजना विस्तार गर्न पहल गरिनेछ।
योग शिक्षा विस्तार गर्न आवश्यक पूर्वाधार निर्माणका लागि पहल गरिने छ र टीकापुरको योगलाई प्राकृतिक चिकित्सालयको Research Center को रूपमा विकास गरिनेछ।
शिक्षा ऐन, निजामति सेवा ऐन शीघ्र निर्माणका लागि पहल गर्नेछु।
३. संस्कृति, पर्यटन र वन:
टीकापुर पार्कको आधुनिकीकरण: तत्कालीन राजा महेन्द्रले एक महिना शासन सत्ता चलाएको टीकापुर वृहत उद्यान ८४ विगाह क्षेत्रफलमा फैलिएको छ। यो पार्क हाल १३ विघामा सिमित छ। बाँकी क्षेत्रलाई डीपीआर अनुसार विस्तार गर्दै वाटर पार्कको रूपमा विकास गरिनेछ।
पार्कसँगै सामुदायिक वनहरूमा जडिबुटी, फलफूल खेती विस्तार गर्ने र पार्कमा सम्भव भएसम्म मिनि जु मार्फत लाखौँ पर्यटकहरूको आकर्षणको केन्द्र बनाई पर्यटन व्यवसायमार्फत ठूलो सङ्ख्यामा रोजगारी उपलब्ध गराउन पहल गरिनेछ।
अन्तर्राष्ट्रिय शैवधाम बनाउने अठोट: टीकापुर नगरपालिका-७ सती बजारमा रहेको पद्मप्रकाशेश्वर महादेवको मन्दिरमा नेपालकै सबैभन्दा ठुलो शिवलिङ्ग छ। यो मन्दिरलाई वैदिक हिन्दू विधि अनुसारको आगमशास्त्रलाई अनुसरण गरी यसको विकास गरिने छ।
दौलतपुरघाटलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ।
थारु समुदायको आस्थाको केन्द्र रहेको जोशीपुर गाउँपालिका-४ को कुटनी बुढिया धार्मिक स्थललाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ।
वरघर प्रणालीलाई कानुनी मान्यता दिनुका साथै कठरिया जातीलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न पहल गरिनेछ।
दुर्लभ जलचर डल्फिन, घडियाल गोही संरक्षण गरी पर्यटन विकासको हब बनाउन आवश्यक पहल गरिनेछ।
थारु बहुल क्षेत्रमा स्थान छनौट गरी थारु सङ्ग्रहालय बनाइनेछ।
४. कृषि र भूमि र उद्योग:
आधुनिक कृषि औजार औद्योगिक केन्द्र स्थापना: यस क्षेत्रमा रहेका कृषि, विज्ञान र कृषि इन्जिनियरिङ्ग विषय पठनपाठन गर्ने क्याम्पसहरूलाई लक्षित गरी युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न आधुनिक कृषि औजार औद्योगिक केन्द्रको स्थापना गरिनेछ।
कृषि सामग्रीमा सहुलियत करको भन्सार नीति बनाउन पहल गर्नेछु र मलखाद र बीउबिजनको सहजताका लागि राष्ट्रिय नीति बनाउन पहल गरिनेछ।
जोशीपुर क्षेत्रमा मझौला खालको कोल्ड च्याम्बरको स्थापना गरिनेछ।
भूमि समस्या समाधान: सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलनको काम सम्पन्न भइसकेको छ, रोकिएको जग्गा नापजाँचको कार्य तत्काल अगाडि बढाई लालपुर्जा वितरणका लागि पहल गरिनेछ।
टीकापुर नगरपालिका वडा नं. १ स्थित भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि आवश्यक कानुन बनाई सरकारद्वारा जग्गा खरिद गरी बसोबासका लागि पहल गरिनेछ।
नेपाल कृषि अनुसन्धान परिषद् (NARC) को प्रदेश स्तरिय कार्यालय स्थापना गर्न पहल गर्ने र खक्रौला भन्सारमा आधुनिक प्रणाली जडित क्वारेन्टाइन कार्यालय स्थापना गरिनेछ।
कृषि (केरा), वन (वेतबाँस) र पर्यटन लक्षित साना उद्योग स्थापनाको पहल गर्दै महिलाका लागि रोजगारी सृजना गर्न पहल गरिनेछ।
५. सामाजिक सद्भाव सहितको सुशासन, पारदर्शिता र जवाफदेहिता:
निर्वाचन क्षेत्रका गुनासा र सुझावहरू संकलन गर्न, सबैको पहुँचमा हुने गरी निर्वाचन क्षेत्र प्रतिनिधि सभा सदस्यको सचिवालय रहनेछ।
प्रतिनिधि सभा सदस्यको हैसियतले मैले प्राप्त गर्ने सम्पूर्ण सेवा सुविधाहरूबाट यस क्षेत्रका विपन्न परिवारका सन्तानहरूलाई माध्यमिक तह सम्मको शिक्षामा सहयोग गरिनेछ। प्रत्येक आर्थिक वर्षको अन्तिममा खर्च विवरणको सार्वजनिक गरिनेछ।
अन्तमा यस क्षेत्रको समग्र विकासका लागि प्रतिनिधिसभाको निर्वाचन २०८२ मा सुर्य ध्वजाबाहक उम्मेदवारका रुपमा हातमा हात र काँधमा काँध मिलाउन यहाँहरू समक्ष आएको छु। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी मलाई अत्याधिक बहुमतले विजयी गराइ दिन हुन हार्दिक अपिल गर्दछु।
द्वारिकाप्रसाद न्यौपाने प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाली क्षेत्र नं १

























































































































































