लम्की, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कैलाली क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार सूर्य बहादुर थापाले लम्की बजार क्षेत्रमा शुक्रबार व्यापक घरदैलो कार्यक्रम भइरहेको छ । घरदैलोका क्रममा स्थानीय व्यापारीले उत्साहपूर्वक स्वागत गर्दै विकास र स्थायित्वका लागि थापालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
लम्की बजारका विभिन्न टोल–समुदायमा पुगेर थापाले नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र भावी योजनाबारे जानकारी गराए । उनले स्थानीय व्यवसाय प्रवद्र्धन, रोजगार सिर्जना, कृषि आधुनिकीकरण, स्वास्थ्य तथा शिक्षाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताए ।
‘लम्की बजारलाई सुदूरपश्चिमकै सशक्त आर्थिक केन्द्रका रूपमा विकास गर्ने हाम्रो स्पष्ट योजना छ,’ थापाले भने, ‘यहाँको व्यापार, पर्यटन र उद्योगको सम्भावनालाई उपयोग गरेर युवालाई आफ्नै ठाउँमा अवसर सिर्जना गरिनेछ ।’
घरदैलो कार्यक्रममा स्थानीय युवा, महिला र ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता देखिएको थियो । कतिपय स्थानमा नागरिकले सडक स्तरोन्नति, खानेपानी, ढल व्यवस्थापन र स्वास्थ्य सेवामा सुधार गर्न मागसमेत राखेका थिए । थापाले ती मागलाई आफ्नो प्रतिबद्धतापत्रमा समेट्ने र योजनाबद्ध रूपमा कार्यान्वयन गर्ने आश्वासन दिए ।
कार्यक्रमका क्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले थापाको विगतको सामाजिक र विकासमुखी भूमिका स्मरण गर्दै यसपटकको निर्वाचनमा विजयी गराउन आह्वान गरेका थिए। सहभागीहरूले थापा इमानदार, दृढ र जनतासँग नजिक रहेर काम गर्ने नेताका रूपमा स्थापित भएको धारणा व्यक्त गरेका थिए ।
लम्की बजारको घरदैलोपछि थापाले आगामी दिनमा क्षेत्रमा पुगेर जनताको सुझाव संकलन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढ्दै गएको छ ।

















































































































































