धरान (सुनसरी), सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उहाँकै लयमा सुजन गन्धर्वले सारङ्गीकोे धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो । उहाँहरु हाल दैनिक जसो धरानस्थित श्रम संस्कृति पार्कमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सारङ्गी र मादलको साथमा गीत गाउँदै आउनुभएको छ । एक जनाले मादल बजाउने र अर्काले सारङ्गी रेट्दै गीत गाउने उहाँहरूको दैनिकी बनेको छ ।
सारङ्गीको मधुर धुनमार्फत उहाँहरूले पार्क घुम्न आउने सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्नुहुन्छ । अहिले उहाँहरुको जीविकोपार्जनको माध्यम यही बनेको छ । सर्वसाधारण साथै पर्यटकले स्वेच्छाले रकम दिन्छन् । सुवास गन्धर्वले बाउबाजेदेखि चलिआएको पेसालाई निरन्तरता दिएको बताउँदै यही पेसाबाट परिवार पाल्दै आएको बताउनुभयो । “बाउबाजेले सारङ्गी रेटेरै हामीलाई हुर्काउनुभयो, मैले त्यही परम्परा समातेको हुँ”, उहाँले भन्नुभयो ।
“पहिला पहिला गाउँमा यातायातको सुविधा थिएन । कैयौँ दिन हिँडेर टाढा–टाढा पुगेर गीत गाउने चलन थियो । अहिले सवारीसाधनले सजिलो भएको छ”, उहाँले भन्नुभयो । नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न सहर तथा भारतको सिक्किम र दार्जिलिङसम्म पुगेर गीत गाएको उहाँको अनुभव छ । गाडी तथा सार्वजनिक स्थानमा गीत गाएर सर्वसाधारणबाट प्राप्त हुने स्वेच्छिक सहयोग नै आम्दानीको आधार भएको उहाँको भनाइ छ ।
सुवास गन्धर्वका अनुसार उहाँ ‘भ्वाइस अफ नेपाल’ मा समेत सहभागिता जनाउँदै ब्याटल चरणसम्म पुग्नुभएको थियो भने ‘इन्द्रेणी’ कार्यक्रममा गीत गाउनुभएको छ । उहाँले भन्नुभयो, “धेरै कार्यक्रमहरुमा सहभागी भएर गीत गाउँदै पनि हिँडियो तर त्यहाँबाट अपेक्षित आम्दानी नभएपछि पुन सारङ्गी बजाएरै जीविकोपार्जन गर्न थालेको हुँ ।” उहाँले काठमाडौँदेखि पोखरा जस्ता सहरका धेरै गल्लीमा सारङ्गी बजाइसक्नुभएको छ ।
सुजन गन्धर्वले लामो समय भारतको दार्जिलिङमा रोजगारी गरेर गाउँ फर्किएपछि आठ वर्षदेखि सारङ्गी बजाउँदै गीत गाएर आम्दानी गरी जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले परम्परागत पेसा जोगाउने उद्देश्यले यसलाई निरन्तरता दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सारङ्गी बजाएर गीत गाउनु गन्धर्व समुदायको पुख्र्यौली पेसा हो, हाम्रो संस्कृति र पहिचान पनि यही हो”, उहाँले भन्नुभयो, “पछिल्लो समय नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै जाँदा यस्तो मौलिक कला सङ्कटमा पर्दै गएको छ ।”आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला गन्धर्व समुदायको परम्परागत पेसा जोगाउन चुनौती थपिएको उहाँको भनाइ छ । स्वास्थ्यले साथ दिएसम्म आफूहरु यो पेसालाई निरन्तरता दिने उहाँले सुनाउनुभयो ।
नेपालमा लोपोन्मुख जातिका रुपमा रहेको गन्धर्व जातिको मुख्य बाहुल्यता भोजपुर, कास्की ,तनहुँ, लमजुङ, गोरखा, चितवन, बाग्लुङ, पाल्पा, दैलेख, सुर्खेतलगायतका जिल्लामा छ । नेपाली लोकसङ्गीत र रङ्गमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वर्द्धनसँगै विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन साराङ्गी मादल पनि एक हो । आज आएर गन्धर्वले लोकगीतलाई स्थानीय गीत स्थायित्व गराई पेसाको रुपमा अपनाउँदै आएका छन् । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































