कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७ का युवा तथा बालबालिकालाई उनले फुटबल, क्रिकेट, ब्याडमिन्टन लगायतका खेलकुद सामग्री वितरण गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गर्दा करिब २१ हजार रुपैयाँ संकलन भएको थियो भने बाँकी रकम समाजसेवी जोशीले आफ्नै तर्फबाट थप गरी जम्मा ४३ हजार रुपैयाँ बराबरको खेल सामग्री वितरण गरेका हुन्।
सामग्री वितरण कार्यक्रममा बोल्दै जोशीले युवाहरूलाई कुलतबाट जोगाउन खेलकुद सबैभन्दा प्रभावकारी माध्यम भएको बताए। “आज धेरै युवा गलत संगत र दुर्व्यसनतर्फ गइरहेका छन्। खेल मैदानमा जोड्न सके उनीहरूको भविष्य बचाउन सकिन्छ,” उनले भने। उनले आगामी दशैंमा “खसी कप” प्रतियोगिता आयोजना गर्ने घोषणा गर्दै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै बालबालिकालाई सडकमा नभई सुरक्षित खुला स्थानमा मिलेर खेल्न आग्रह गरे। कार्यक्रमका क्रममा उनले स्थानीय सरकारप्रति असन्तुष्टि समेत व्यक्त गरे। “स्थानीय तहले युवाको हितमा पर्याप्त काम गर्न सकेको छैन। वर्षमा कम्तीमा एकपटक भए पनि प्रभावकारी खेलकुद कार्यक्रम हुनुपर्छ,” उनले बताए।
खेलकुद सामग्री पाएपछि स्थानीय बालबालिका तथा युवाहरू उत्साहित देखिएका थिए। सामग्री ग्रहण गर्दै सुशान्त जोशीले पहिलोपटक यस्तो सहयोग पाएको बताए। “अहिलेसम्म कुनै संघसंस्था वा व्यक्तिबाट खेल सामग्री पाएका थिएनौँ। आज पाएपछि निकै खुसी लाग्यो,” उनले भने।
कक्षा ६ मा अध्ययनरत जेनिस जोशीले पनि सरकार वा अन्य संस्थाबाट कहिल्यै यस्ता सामग्री नपाएको उल्लेख गर्दै सहयोगीप्रति धन्यवाद व्यक्त गरे।
स्थानीय युवा रूपक बमले आजका बालबालिका भविष्यका कर्णधार भए पनि उनीहरूका लागि राज्यको लगानी पर्याप्त नरहेको बताए।
त्यस्तै विश्व प्रकाश सञ्जालले खेलकुदले युवालाई कुलतबाट टाढा राख्नुका साथै स्वास्थ्य सुधार र सामाजिक विकासमा योगदान पुग्ने धारणा राखे।
समाजसेवी चक्रबहादुर कठरियाले मोबाइलमा बढी समय बिताउने बालबालिकालाई खेलकुदमार्फत सकारात्मक दिशातर्फ लैजान यस्तो अभियान प्रभावकारी हुने बताए।
युवा अनिल बमका अनुसार खेम जोशी सामाजिक विकृति, विसंगति तथा भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सक्रिय युवा हुन्। “समाजमा जहाँ समस्या पर्छ, त्यहाँ आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्न उहाँ सधैं अग्रसर हुनुहुन्छ,” उनले भने।
कार्यक्रममा सहभागी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायतले खेलकुद क्षेत्रका लागि बजेट छुट्याइएको भए पनि विभिन्न कारणले कार्यान्वयन हुन नसकेको बताए। उनले खेलकुदले युवाको स्वास्थ्य, अनुशासन र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
स्थानीयवासीले ग्रामीण क्षेत्रमा युवालाई कुलतबाट जोगाउन तथा खेलकुद संस्कृतिको विकास गर्न खेम जोशीले थालेको अभियान उदाहरणीय भएको बताएका छन्।



















































































































































